October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

आज हरितालिका तीजको रमझम

Advertisement

भैरहवा– हिन्दू नारीहरुको महान चाड हरितालिका तीज हो आज। हरित अर्थात् हरण गरिएकी र आलिका अर्थात् शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।

Advertisement

हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य बर पाउनका लागि अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार ब्रत बसेर शिवको पुजा गर्ने परम्परा छ ।

भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने गरिन्छ ।

हरितालिका तीजको दिन आज बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड लागेको छ । तीजका लागि लुम्बिनी सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।