June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

लुम्बिनी होटल संघ नेपालको अध्यक्षमा लीलामणि शर्मा

Advertisement

लुम्बिनी– लुम्बिनी होटल संघ नेपालको अध्यक्षमा लीलामणि शर्मा निर्वाचित भएका छन् । संघको शनिबार लुम्बिनीमा सम्पन्न सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । शर्मा यसअघि ससंघको बरिष्ठ उपाध्यक्ष थिए ।

Advertisement

प्रमुख निर्वाचन आयुक्त प्रख्यात बन्जाडेका अनुसार अधिवेशनले निर्विरोध रुपमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमिति चयनका लागि शुक्रबार साँझ उम्मेदवारी आह्वान गरिएकोमा सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध रुपमा पदाधिकारी र सदस्य चयन भएको बन्जाडेले बताए ।

संघको बरिष्ठ उपाध्यक्षमा शेखर कार्की, उपाध्यक्षमा भूपेन्द्र गुरुङ, महासचिवमा टीका कुमारी कट्टेल, सचिवमा एकराज कंडेल, कोषाध्यक्षमा दीपक पंगेनी र सह–कोषाध्यक्ष धीरज भण्डारी निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा पद्मा काफ्ले न्यौपाने, प्रजुल कार्की क्षेत्री, दीपेन्द्रलाल बनियाँ, अशोककुमार गुप्ता, किशोर यादव, अनिलकुमार गुप्ता, रोशन शाक्य र जनकबहादुर सोमइ मगर चयन भएका छन् ।

यसअघि अधिवेशनको उद्घाटन सत्रमा बोल्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डे, प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी होटल संघका निवर्तमान अध्यक्ष गोविन्द ज्ञवाली, महासचिव पुरुषोत्तम अर्याल लगायतले निजी क्षेत्र एकताबद्ध भएर पर्यटकीय विकासमा लाग्नुपर्नेमा जोड दिए । उनीहरुले पर्यटकबाटै प्रदेशको समृद्धि हासिल गर्न सकिनेमा जोड दिए ।