क्यासिनोलाई किन गरिँदैछ कडाइ ?


भैरहवा– मुलुकभर नियमनको जिम्मेवारी पाएको पर्यटन विभागले अहिले क्यासिनोलाई कडाइ गर्न थालेको छ । यसैक्रममा गत कार्तिक २९ गते क्यासिनोलाई १२ बुँदे निर्देशन समेत दिइसकेको छ । निर्देशन लगत्तैं सरोकारवाला निकायको सहभागितामा क्यासिनो अनुगमनको तयारी गरिरहेको विभागले जनाएको छ ।
क्यासिनोमा भइरहेका नियम विपरीतका गतिविधि नियन्त्रणका लागि निर्देशन जारी गरेको विभगाले कडाई गर्नुका पछाडि अन्य कारण समेत रहेका छन् । नियमविपरीत टेबल राखेर जुवा खेलाउने, नेपाली प्रवेश, लाभकर लगायतका कर छली गरेको क्यासिनोमाथि आरोप छ । सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक काम गर्न नसकेको भन्दै गत फागुनमा नेपाल दुई वर्षका लागि ‘ग्रे–लिस्ट’ मा पर्यो । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को एसिया प्रशान्त समूह (एपिजी) ले नेपाललाई ग्रे सूचीमा राखेको हो । नेपाल एफएटिएफको सदस्य राष्ट्र नभए पनि एपिजीको सदस्य राष्ट्र हो । मुख्यतयाः क्यासिनो, भूमि, धातुका गरगहना लगायत कारोबारबाट सम्पत्ति शुद्धीकरण भइरहेको आशंकामा नेपाललाई यस्तो सूचीमा राखिएको हो ।
यही कारण सरकारले देशभर सञ्चालनमा रहेका क्यासिनोलाई कडाइ गर्दैछ । क्यासिनोलाई कानुनी दायरामा ल्याउने उद्देश्यसहित यसै साता पर्यटन विभागले विभिन्न निर्देशन दिएको छ । ग्रे लिस्टबाट नेपाललाई कसरी हटाउन सकिन्छ भन्नेबारे अहिले छलफल भइरहेको विभागका सूचना अधिकारी लिलाधर अवस्थीले बताए । ‘यसका लागि सम्बन्धित निकायहरूले संयुक्त रूपमा क्यासिनो अनुगमन गर्ने कुरा छ,’ उनले भने,’ नियमभन्दा बाहिर गएर चलाएको पाइए तत्काल स्थानीय प्रशासनको सहयोगमा बन्द गराउने वा कानुनी प्रक्रियामा ल्याउनेसम्मको तयारी छ ।’ पछिल्लो समय क्यासिनोमा व्यवसायीहरूले कानुन पालना नगरेको भन्दै विभागमा गुनासो समेत आउन थालेको उनले बताए ।
क्यासिनो नियमावली–२०८२ ले क्यासिनोका लागि आवश्यक न्यूनतम पूर्वाधार र व्यवसायीहरूले पालना गर्नुपर्ने सर्तहरू तोकेको छ । तर क्यासिनो व्यवसायीले नियम पालना नगरेको गुनासो आएको उनको भनाइ छ । देशमा सञ्चालित क्यासिनोहरूमा नेपाली नागरिकहरू जान नपाउने प्रावधान छ । त्यस्तै ठूलो वा मिनी क्यासिनोमध्ये जुन सञ्चालनकालागि अनुमति लिइएको छ, त्यही मात्र चलाउनुपर्ने व्यवस्था नियमावलीमा छ ।
तर व्यवसायीहरूले यो व्यवस्थाभन्दा बाहिर गएर काम गरिरहेको सूचना पाएसँगै विभागले कानुनी दायरामा ल्याउन निर्देशन दिएको सूचना अधिकारी अवस्थीले बताए । ‘विभागबाट स्वीकृति लिएका खेलबाहेक अरू खेलाउन नपाइने प्रावधान छ । तर व्यवसायीहरूले अन्य खेल पनि खेलाइरहेको गुनासो आउन थाल्यो,’ उनले भने,’ गुनासोलाई मध्यनजर गरेरै विभागले परिपत्र जारी गरेको हो ।’
निर्देशनमा के छ ?
क्यासिनोलाई कडाइ गर्न विभागले जारी गरेको निर्देशनमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई विदेशी मुद्राको कारोबार गर्न प्रतिबन्ध लगाइएको छ । क्यासिनो नियमावली–२०८२ अनुसार आवश्यक सबै वित्तीय विवरण विभागमा नियमित बुझाउनुपर्नेछ । साथै, ग्राहक पहिचान प्रणालीसहित बायोमेट्रिक विवरण अद्यावधिक राखी विभागले माग गरेमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ । क्यासिनो परिसरका सबै गतिविधि सिसिटिभी क्यामरामा रेकर्ड गरी कम्तीमा ६ महिना सुरक्षित राख्नुपर्नेछ ।
त्यस्तै, तेस्रो पक्षसँग सम्झौता गरी क्यासिनो सञ्चालन गर्न नपाइने र इजाजत लिएको स्थान बाहेक अन्यत्र सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । खेलाडीले जितेको रकम भुक्तानी गर्नुअघि आकस्मिक लाभकर अग्रिम कट्टी गर्नुपर्ने र सोको प्रमाणपत्र तयार गरी आन्तरिक राजस्व कार्यालय तथा विभागमा तत्काल बुझाउनुपर्नेछ । इन्टरनेट वा अनलाइनबाट खेल सञ्चालन पूर्ण रूपमा प्रतिबन्धित छ । क्यासिनो तथा होटल परिसरभित्र र बाहिर पर्याप्त सुरक्षा व्यवस्था अनिवार्य गरिएको छ ।
साथै ग्रे–लिस्टबाट बाहिरिन आवश्यक सुधारात्मक कार्य नगरेमा वा जोखिम–आधारित अनुगमनमा त्रुटि भेटिएमा विभागले तत्काल कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । विभागले देशभर सञ्चालनमा रहेका क्यासिनोका लागि यस्तो निर्देशन दिएको हो । हाल देशभर २७ वटा क्यासिनो विभागबाट इजाजत लिएर सञ्चालनमा छन् । त्यसमा पनि ११ वटा ठूला र १६ वटा मिनी क्यासिनो छन् । गत भदौमा भएको जेनजी आन्दोलन क्रममा क्षति पुगेका ३ वटा क्यासिनो भने अहिले बन्द छन् ।








प्रतिकृया दिनुहोस्