कार्तिकमा रूपन्देही प्रहरीद्वारा ३९ फरार पक्राउ, डेढ करोडका अवैध सामान बरामद


भैरहवा– रुपन्देही प्रहरीले कार्तिक महिनामा विभिन्न मुद्दाका फरार ३९ जना अभियुक्त पक्राउ गरेको छ । यसबाट कैद २६ वर्ष ८ महिना २५ दिन र जरिवाना ८ लाख ६ हजार ८३५ रुपैयाँ असुलउपर भएको प्रहरीले जनाएको छ ।
कार्तिकमा जिल्ला प्रहरी र मातहत कार्यालयहरुबाट खटिएको टोलीले बिभिन्न स्थानहरुबाट भन्सार छलि चोरीनिकारी गरी भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको १ करोड ५९ लाख ९३ हजार ६५७ रुपैयाँ बराबरको सामानहरु बरामद गरेको छ । रुपन्देही प्रहरीले सार्वजनिक गरेको कार्तिक मनिाको प्रगती विवरणअनुसार यसक्रममा २७ वटा मोटरसाइकल, एउटा कार, ४ वटा पिकअप, २ अटोरिक्सा नियन्त्रणमा लिइएको छ । यस्तै, चोरीपैठारीमा संलग्न ३२ मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, पशु चेकपोष्ट कार्यालय, बेलहिया र राजश्व अनुसन्धान कार्यालय, बुटवलमा पठाइएको छ ।
यस्तै, कार्तिकमा १७४ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । यसमध्ये ९१ वटा फछ्र्यौट भएका छन् भने ८३ वटा अनुसन्धानकै क्रममा छन् । यी मुद्दामा संलग्न १६१ जना व्यक्ति पक्राउ पर्दा ५६ जना फरार रहेको प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । यस्तै, २६ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ ।
एक महिनामा प्रहरीले लागूऔषध ओसारपसार र सेवनकर्ता पक्राउ गरी १० वटा मुद्दा दर्ता गर्दा त्यसमा १५ जना पक्राउ परेका छन् । कार्तिकमा ८२ वटा समुदाय–प्रहरी साझेदारी कार्यक्रम गरिँदा त्यसबाट २ हजार ७९४ जना लाभान्वित भएका छन् । जिल्ला ट्राफिक र जिल्ला प्रहरीको संयुक्त चेकजाँचका क्रममा ४२२ वटा सवारीसाधन कारबाहीमा परेका छन् । सवारीसाधन कारबाहीबाट ४ लाख ३७ हजार ५ सय रुपैयाँ जरिवाना असुलउपर भएको डीएसपी कार्कीले बताए ।
यस्तै, ११ वटा आगलागीका घटना हुँदा २ करोड ५३ लाख ५२ हजार ७५० रुपैयाँ बराबरको क्षति भएको प्रहरी तथ्यांक छ । कार्तिकमा ९६ वटा मोबाइल हराएको निवेदन प्रहरीमा दर्ता भएकामा १४ वटा फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । यस्तै, अवैधरुपमा नदीजन्य पदार्थ र माटो उत्खननमा संलग्न दुईवटा टिपर र एउटा जेसीभी नियन्त्रणमा लिइ सम्बधित पालिकामा बुझाएर दुई लाख ५३ हजार जरिवाना तिराइएको प्रहरीले जनाएको छ ।








प्रतिकृया दिनुहोस्