June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

‘लुम्बिनीको संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण’

Advertisement

भैरहवा– विश्व सम्पदास्थल लुम्बिनीको संरक्षणमा स्थानीय बासिन्दाको भूमिका महत्वपूर्ण रहेको पुरातत्वविद् तथा सरोकारवालाले बताएका छन् । उनीहरुका अनुसार सरोकारवाला व्यक्ति, संस्था, दातृ निकाय र सञ्चारमाध्यामबीच हातेमालोबिना लुम्बिनीको पुरातात्विक तथा सांस्कृतिक संरक्षण सम्भव छैन । विज्ञका अनुसार लुम्बिनीको अन्वेषण, उत्खनन्, संरक्षण, विकास, रेखदेख र खबरदारीमा व्यक्ति तथा संस्था प्रत्यक्ष संलग्न छन् ।

Advertisement

बरिष्ठ पुरातत्वविद् बसन्त विडारीले लुम्बिनीलाई विश्व सम्पदास्थल बनाउन बिगतमा धेरै प्रयास गर्नु परेको जनाए । ‘०३२ देखि ०४२ सम्म लुम्बिनी विकास समिति अध्यक्ष लोकदर्शन बज्राचार्यको पालादेखि प्रयास गरेका हौं,’ उनले भने, ‘तेस्रो पटकको प्रयासपछि सन् १९९७ मा बल्ल सूचिकृत भएको थियो ।’ त्यस्तो उपलब्धी प्राप्त भएको २८ वर्षपछि फेरि लुम्बिनी विश्व सम्पदाको खतराको सूचिमा पर्ने जोखिम हुनु दुःखद् पक्ष भएको उनले बताए । युनेस्कोको गाइडलाइन विपरितका कामगर्दा यस्तो नतिजा आएको उनको भनाई छ । उनका अनुसार पहिलेदेखि नै युनेस्कोले यहाँ भइरहेका गतिबिधिमाथि प्रश्न उठाइरहेको थियो । ती सवाल समाधानमा केन्द्रित नहुँदा लुम्बिनी सम्भावित खतराको सूचीमा परेको उनले बताए ।

वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले पुरातत्व संरक्षणका लागि अहिले भइरहेका काम कारबाही विज्ञका लागि नभएर जनताको पक्षमा भएको बताए । ‘पुरातत्व संरक्षणका क्रियाकलापमा जनता जोडिनुपर्छ,’ उनले भने, ‘यो पहिलेदेखिकै मान्यता हो । पुरातत्वस्थल र जनताबीच पुलको काम सञ्चारमाध्यामले गर्छन् ।’ पुरातत्वस्थलको अवस्था दर्शाउने र तिनलाई प्रवद्र्धन गर्ने काम सञ्चारमाध्यामले गरिरहेको उनले बताए । पुरातत्वविदले पनि सञ्चारमाध्यामलाई बोलाएर अन्वेषण र उत्खननबाट पत्ता लागेका विषयवस्तुबारे जानकारी दिने परम्परा रहेको उनले बताए । ‘कहिलेकाँही मिडिया अनियन्त्रित हुँदा गलत सूचना प्रचारप्रसार हुने जोखिम पनि हुन्छ,’ उनले भने, ‘यस्ता विषयमा सञ्चारमाध्याम र सरोकारवाला सचेत हुनुपर्छ ।’

बरिष्ठ पुरातत्वविद् रविन कनिङघमले स्थानीय बासिन्दा र आमसञ्चारका माध्यामबाट प्रचार प्रसार हुने सूचना र जानकारीको महत्व ठूलो हुने गरेको बताए । ‘आमसञ्चार माध्यामबाट सम्पदा र सम्पदास्थलमा भएका गतिविधिबारे सम्प्रेषण गरिने खबरले अन्तराष्ट्रिय सरोकारवाला र दाताको पनि ध्यानाकर्षण गर्छन्,’ उनले भने, ‘साथै सम्पदा संरक्षणबाट स्थानीयलाई कसरी लाभाम्वित तुल्याउन सकिन्छ भन्नेबारे महत्वपूर्ण प्रतिक्रिया प्राप्त हुन्छन् ।’ सञ्चारमाध्यामले तथ्यमा आधारित भएर सम्पदा क्षेत्रमा गरिएका अन्वेषण, उत्खनन्, संरक्षण, बिकास र स्थानीयका लागि गरिएका कार्यक्रमबारे सजिलै बुझाउन भूमिका खेल्ने गरेको उनले बताए । ‘त्यसैल सम्पदा संरक्षणमा स्थानीय र सञ्चारमाध्यामको महत्वपूर्ण देन छ,’ उनले भने ।

युनेस्को अफिस नेपाल अफिसका प्रमुख याको दु तोयटले सम्पदास्थल संरक्षणमा समुदायको निकैं ठूलो भूमिका रहँदैं आएको जानकारी दिए । ‘स्थानीय बासिन्दा जो हरेक क्षण सम्पदासित सरोकार राख्छन र त्यसैसित बाँच्छन्,’ उनले भने, ‘त्यसैले स्थानीयको भूमिका र पहिचान पुरातात्विक क्षेत्रमा प्रतिविम्बित हुन जरुरी छ । त्यसैले समुदाय, त्यसमा पनि युवाहरु जहिलेपनि सम्पदा संरक्षणको प्रक्रिया र हरेक निर्णयमा सहभागी हुन जरुरी छ ।’ उनीहरुको भूमिकाले सम्पदाको भविष्य निर्धारण हुने भएकाले स्थानीयको सहभागिताले नै सरोकारवाला निकायले सम्पदा संरक्षणका लागि गरेका निर्णय र कार्यक्रम पालनामा मद्दत पुग्ने उनले बताए ।

संरक्षणकर्मी राजेन्द्र सुवाल अब विश्वमा कही पनि अर्को लुम्बिनी नबने र गौतमबुद्ध पनि नफर्किने भएकाले लुम्बिनीका पुरातात्विक तथा सांस्कृकि सम्पदा जोगाउनुको विकल्प नरहेको बताए । ‘बुद्धको जन्मस्थलका लागि नेपाल सरकारले ठूलो क्षेत्रफल छुटयाएको छ र छुट्टै निकाय पनि गठन गरेको छ,’ उनले भने, ‘पहिले बुद्धका वाणी मानिसले यात्रा गरेर फैलाउनु पथ्र्यो । स्थानीय सञ्चारमाध्याम र सामाजिक सञ्जालले गर्दाखेरि सजिलो भएको छ ।’

पर्यटन पथप्रदर्शक प्रल्हाद यादवले लुम्बिनी धार्मिक स्थलमा नभई ऐतिहासिक एवं पुरातात्विक स्थल भएको बताए । ‘लामो समयको खोज र अनुसन्धानपछि लुम्बिनी विश्व सम्पदा सूचीकृति भएपछि विश्वका मानिसको ध्यानाकर्षण भएको हो,’ उनले भने, ‘नेपाल सरकारले लुम्बिनीलाई राम्ररी पर्यटन प्रवद्र्धन गर्न सकेको छैन । बरु लुम्बिनी आफैं प्रसिद्ध बन्दै गएर पर्यटन प्रवद्र्धन भएको छ ।’

लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रलाई नै लुम्बिनी मानेर संरक्षण र बिकास गर्न जरुरी रहेको उनले बताए । नेपाल सरकारले नै लुम्बिनीलाई ओझेलमा राखेको उनको भनाई छ । ‘नेपाल सरकार, युनेस्को, पुरातत्व विभाग, लुम्बिनी बिकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय र स्थानीय सरकारले अझैं खोज अनुसन्धान अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘हामीसित धेरै ऐतिहासिक, धार्मिक तथा पुरातात्विक धरोहर छन् । ती धरोहरको प्रमाणिकरण गरेर विश्वमाझ उजागर गर्न जरुरी छ ।’

लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले स्थानीय तहको नामकरण लुम्बिनी सांस्कृतिक नगरपालिका गरियो तर, नाम अनुसार काम नभएकोमा चिन्ता व्यक्त गर्छन् । ‘नगरपालिकाले संस्कृति बचाउन एक प्रतिशत भूमिका निर्वाह गरेन । स्थानीयलाई संस्कृति बचाउन उत्प्रेरित गर्न सकेन,’ उनले भने, ‘७–८ वर्ष अघिसम्म पर्यटकलाई स्थानीय गाउँ डुलाउँदा रमाउने गर्थे । ती अहिले आएर दुःख व्यक्त गर्छन् । गरिबी, पिछ्डापन र फोहोर नै लुम्बिनीको संस्कृति हो र ? भनेर पर्यटकले प्रश्न गर्न थालेका छन् । अर्कोतर्फ पुरातत्वको मात्र कुरा गर्दा अध्यात्म हराउने ।’

आध्यात्ममात्र खोज्दा युनेस्कोको परिधिभित्र नपर्ने, आध्यात्ममा जोड दिँदा पुरातात्विक मूल्यमान्यता खतरामा पर्ने हुन कि भन्ने चिन्ता हुने गरेको उनले बताए । स्थानीयले परम्परादेखि पुरातत्व र आध्याम संरक्षण गर्दै आएका हुन् । ‘विश्व सम्पदा केन्द्रले पनि हामीलाई लुम्बिनीको पहिलो घेरामा राखेको छ,’ उनले भने, ‘पहिलो घेरामा हामी छौं भने हाम्रो उपस्थिती कहाँ छ ? लुम्बिनीमा हुने गतिविधिमा हामीलाई समेटिएको छैन । हाम्रो सहभागिता र योगदान समेटिएको कुनै दस्तावेज छैन ।’