सकियो सिद्धार्थ जेसीजको स्वर्णजयन्ती, समाज रुपान्तरणमा जेसीजले खेलेको भूमिकाको प्रशंसा


भैरहवा– जेसीज अगुवाहरुले समाज रुपान्तरणका लागि जेसीज युवाहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले युवाहरु पहिला आफै आत्मनिर्भर, अनुशासित र नेतृत्वकर्ता हुनुपर्ने जनाउँदै त्यसपछि घरपरिवार, समाज र मुलुक नै रुपान्तरणको भूमिका खेल्नुर्ने जनाए ।
जेसीआई सिद्धार्थ, नेपालको भैरहवामा आयोजित स्वर्णजयन्ती महोत्सव समापन समारोह तथा नगद सहयोग हस्तान्तरण र पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनीहरुले जेसीज भन्दा वित्तिकै फरक पहिचान बनाउनुपर्ने बताए । नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष भोलेश्वर दुलालले निस्वार्थ भावनाले प्रेरित युवा नै जेसीजको पहिचान भएको बताए ।
उनले भने, ‘जेसीज अभियान ऐतिहासिक छ, यसमा तन, मन र धन लगाएर लाग्नुपर्छ । म राष्ट्रिय अध्यक्ष हुँदा एक रुपैयाँ पनि संस्थागत खर्च नगरी काम गरेको हुँ । त्यसैले संस्था बलियो भएको हो ।’ उनले हरेक व्यक्ति पहिला आफू सही हुनुपर्ने जनाए । त्यसपछि घरपरिवार र समाजलाई सही मार्गमा डोर्याउन सकिने उनको भनाई छ । दुलाले जसले जे जानेको छ, त्यही गरेमा मात्रै मुलुक समृद्ध बन्ने धारणा राखे । ‘राजनीतिकर्मीले राजनीति गर्ने, व्यवसायीले व्यवसाय गर्ने र शिक्षकले पढाउने मात्रै काम गरे मुलुक त्यसै बन्छ’, उनले भने, ‘यहाँ त आफ्नो सीप, क्षमता र ज्ञानभन्दा बाहिर गएर जान्ने हुँदा कुनै काम सफल हुन सकेको छैन । हामीकहाँ नकारात्मकता बढी हावी हुँदै गएको छ ।’ उनले समाजलाई सही मार्ग दिलाउन जेसीजको भूमिका अहम् रहेको भन्दै प्रशंसा गरे ।
नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष अनुपमान सैजु, सिद्धार्थ जेसीजका पूर्वअध्यक्ष ओमकुमार श्रेष्ठ र सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सिद्धार्थ जेसीजले विगतदेखि नै ऐतिहासिक काम गर्दै आएको जनाए । उनीहरुले नेतृत्व र क्षमता विकासमा सह्रानीय काम गरिरहेको जनाउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे । दुई–दुई वटा राष्ट्रिय महाधिवेशन गरेर सिद्धार्थ जेसीजले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो गर्विलो छाप छाडेको उनीहरुको भनाई छ । युवाहरुलाई उत्प्रेरित गरेर समाजमा केही गर्नुपर्छ भन्ने भावना विकास गराउन सिद्धार्थ जेसीजले गरेको योगदानको उनीहरुले चर्चा गरे ।
कार्यक्रममा बोल्दै सिद्धार्थ जेसीजका वर्ष २०२५ का अध्यक्ष अर्जुन कुँवरले आफ्नो कार्यकालमा स्वर्णजयन्ती समारोह मनाउन पाउनु आफ्ना लागि शौभाग्य भएको बताए । उनले जेसीज अभियानलाई यहाँसम्म ल्याइपुर्याउने अग्रजहरुको भूमिका स्मरणीय रहेको जनाए । अग्रजहरुले सिद्धार्थ जेसीजलाई आज राष्ट्रिय तथा अन्तर्राष्टिस्तरमा चर्चिच बनाउन सफल भएको उनको भनाई छ । स्वर्ण महोत्सव सफल पार्न अहोरात्र खट्नेहरुप्रति उनले कृतज्ञता व्यक्त गरे । आगामी दिनमा सिद्धार्थ जेसीजलाई अझै सशक्त र बलियो बनाउँदै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा भैरहवाकी पार्वती बानियाँलाई ११ हजार रुपैयाँ नगद सहयोग समेत प्रदान गरिएको थियो । उनले विगत तीन दशकदेखि भैरहवामा मकै पोलेर विक्री गरी परिवारको गुजारा चलाउँदै आएकी छन् । कार्यक्रममा जेसीज स्वर्णजयन्तीका अवसरमा आयोजित फुटसल, वक्तृत्वकला, मिनी म्याराथन, ब्याडमिन्ट लगायतका प्रतियोगिताका विजेता र उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । जेसीजले स्वर्णजयन्तीका अवसरमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम, ह्वील चेयर र साइकल वितरण लगायतका कार्यक्रम पनि गरेको थियो । यस्तै, समापन समारोहमा पूर्ववअध्यक्ष तथा मानार्थ सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।








प्रतिकृया दिनुहोस्