तिमीलाई माया देखाउन आएन, माया !


तिमीलाई–
माया देखाउन आएन नि, माया
आउँदै आएन !
म गएँ भन्दा ‘प्लीज, नजाऊ’ भन्न
मेरो यादमा निन्द्रा गुमाएको कथा सुनाउन
म रिसाउँदा फकाउने कलाहरू देखाउन
तिमीलाई आउँदै आएन माया,
आउँदै आएन !
बरु,
काँडैकाँडामा हिँडेर आफू
मलाई फूलहरू ओछ्याइरह्यौ !
‘प्यार देखाऊ’ भन्दा, भन्छौ,
‘तिम्रो जीवनमा घाम भएर उदाउनेछु’
‘रिसाएर जान्छु’ भन्दा, भन्छौ,
‘जीवनभर छाया बनेर पछ्याइरहनेछु ।’
मेरा हरेक पोस्टहरूमा
बडो प्रेमले लाइक गर्छौ
मेरा तस्बिरहरू जुम गरीगरी हेर्छौ
तर भन्दैनौ कहिल्यै—
तिमीलाई प्रेम गर्छु…
गर्छौ बरु
अर्जुनले
द्रौपदीको माया
मनभित्र लुकाएर राखेझैँ
कृष्णले
राधाको प्रेम
हृदयभरि सँगालेझैँ ।
फेसबुकको न्युजफिडझैँ
हरदम/हरक्षण मेरा निम्ति
प्रेमका नयाँनयाँ सन्देशहरू लिएर आऊ
म त यस्तै चाहन्छु ।
मेसेन्जरको
हरियो बत्तीजस्तै
बलिराख मेरो जीवनमा
बजिराख नोटिफिकेसनको घण्टीझैँ ।
गुड मर्निङ पठाऊ
गुड नाइट भन
र पठाइराख सन्देशहरू
म ब्युँझिएर हेर्नेछु, मध्यरातमा पनि ।
मेरा मेसेजहरूमा ‘लभ रियाक्ट’ गर
कुराको अन्त्यमा इमोजीका रातो मुटु पठाऊ
‘लभ यु डियर, मिस यु सो मच’ भन
मनमा राख, टनका टन मायाहरू ।
तिमीलाई—
माया देखाउन आएन नि, माया
आउँदै आएन !
–baahrakhari








प्रतिकृया दिनुहोस्