सुस्ताबासीको माग- गाउँ जोगाउन तत्काल तटबन्ध


भैरहवा- नारायणी नदीको वर्षेनि हुने कटान र बाढीबाट प्रताडित पश्चिम नवलपरासीको सुस्ता गाउँलाई तत्काल बचाउन तटबन्ध निर्माण गर्न स्थानीय स्तरबाट माग गरिएको छ । सुस्ता बचाउँ अभियानले नेपाल सरकारका विभिन्न मन्त्रालयहरूमा तत्काल तटबन्ध निर्माणको माग गर्दै मागपत्र बुझाएको छ ।
अभियानको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचार्इ मन्त्रालय र अर्थ मन्त्रालयमा औपचारिक रूपमा उक्त मागपत्र पठाएको हो ।
सुस्ता गाउँलाई सुरक्षित राख्न नारायणी नदीको किनारमा करिब दुई किलोमिटर लामो तटबन्ध तत्काल निर्माण गर्नु पर्ने माग स्थानीयको छ ।
अभियानका कार्यवाहक अध्यक्ष आदम खाँले नारायणी नदीको कटान र बाढीबाट सुस्ता गाउँलाई बचाउन आवश्यकता अनुरुपको तटबन्धको अभाव रहेको जनाए । ‘वर्षायाममा नारायणी नदीमा पानीको सतह बढ्दा सिधै सुस्ता गाउँमा बाढी पस्ने गरेको छ’, खाँले भने, ‘बाढीले खेतीयोग्य जमिन डुबानमा पार्ने र घरहरू जोखिममा पार्ने समस्या वर्षैपिच्छे दोहोरिने गरेको छ ।’
अभियानका प्रवक्ता रवीन्द्र जयसवालले पनि नारायणी नदीबाट सुस्तामा पानि पस्दा प्रत्येक वर्ष कटान हुँदै आएको बताए । ‘यदि बेलैमा दुई किलोमिटर तटबन्ध निर्माण नगरिएमा यो गाउँको अस्तित्व नै जोखिममा पर्नेछ,’ जयसवालले भने, ‘हामीले जीवन र जमिन बचाउन सरकारको ध्यानाकर्षण गराएका छौँ ।’
अभियानले बुझाएको मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सुस्तावासीको समस्याप्रति आफू गम्भीर रहेको बताए । स्थानीयको मागलाई तत्कालै सम्बन्धित मन्त्रालयहरूमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।
मागपत्रको प्रभावकारिता र सरकारको प्रतिक्रियाबारे थप दबाब दिनका लागि सुस्ता बचाउ अभियानको टोली एक साताभित्रै पुनः काठमाडौँ जाने भएको छ ।








प्रतिकृया दिनुहोस्