June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

सिमावर्ती जिल्लामा बढ्दो असुरक्षा

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका सिमावर्ती जिल्लामा असुरक्षा बढ्दो छ । दुई सातायता तराईका जिल्लामा लुटपाटदेखि गोली प्रहारका घटना भएका छन् । यस्ता घटनामा संलग्न व्यक्ति पक्राउ नपर्दा सर्वसाधरण चिन्तित छन् । जेन–जी आन्दोलनपछि नयाँ सरकार बन्यो । तर, जिल्लाको सुरक्षा व्यवस्था खलबलिएको छ । प्रहरीको मनोबल गिरेका कारण घटनास्थलमै पुग्नै समस्या छ । बुधबारराति पश्चिम नवलपरासीको नेपाल–भारत सीमानजिकै तस्कर र सशस्त्र प्रहरीबीच झडप भयो । त्यसक्रममा दुई राउण्ड हवाई फायर भएको थियो ।

Advertisement

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका बसैया नाकामा सुरक्षा जाँचकाक्रममा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको थियो । त्यहाँ झडप हुँदा हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका प्रमुख सन्तोष रायमाझीले बताए । मध्यरातमा ६ वटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका मानिसलाई जाँच गर्नेक्रममा झडप भएको हो । उनीहरुले सुकेका माछा भारतबाट नेपाल ल्याउँदै गरेको भेटिएको छ । सशस्त्र प्रहरी निरीक्षक सहितको टोलीमाथि आक्रमणको प्रयास भएको हो ।

सशस्त्र प्रहरीका अनुसार सुरुमा ६ जनाले विवाद गरेका थिए । विवाद बढ्दै जाँदा भारततर्फ बाट थप ३०–३५ जना मानिसहरु आएर हुलहुज्जत गरेका थिए । स्थिति नियन्त्रणमा लिन हवाई फाएर गरेपछि तस्करीमा संलग्न मानिसहरु भारततर्फ नै भागेको सशस्त्र प्रहरीले जनाएको छ । भाग्नेक्रममा करिब १ सय ५० किलो जति सुकेको माछा बरामद भएको थियो । अहिले पश्चिम नवलपरासी लगायत रुपन्देही र कपिलवस्तुका नाकाबाट तस्करी ब्यापक छ । प्रहरीको अनुपस्थितिले तस्करको मनोबल उच्च बनेको छ ।

एकसाता अघि बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षीय रमेश तिमिल्सिना कुटपिटबाट घाइते भएका थिए । किरिया बसेको घरमा कुरुवा बस्न गएका तिमिल्सिनालाई गत आइतबार राति ठाकुरबाबा–३, गिदरपुरका २५ वर्षीय तर्क भण्डारी लगायत १०–१५ जनाको समूहले कुटपिट गरेको आरोप छ । उनी माथि गोली प्रहार भएको स्थानीयले बताए । फलामे सरिया र कुटपिटबाट शरीर र टाउकोमा प्रहार गरिएको प्रहरीले जनाएको छ । चिकित्सकले गोलीको छर्रा फेला नपरेको जनाएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रबहादुर मल्लले बताए । कुटपिट आरोपमा दुई जना पक्राउ परेका छन् । थप ६ जनामाथि मुद्दा दायर गरी खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

एक साताअघि भैरहवाको चार तारे होटल निर्वाणामा रहेको क्यासिनो भित्र ग्राहकबीच झगडा हुँदा गोली प्रहारको घटना भएको थियो । उक्त घटनामा प्रयोग भएको हतियार र संलग्न व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् । यसले भैरहवाका व्यवसायीले असुरक्षा महशुस गरेको बताएका छन् । भैरहवाका एक व्यवसायीले सिमावर्ती सहरमा गोली प्रहारको घटनापछि असुरक्षा महशुस भइरहेको बताए । ‘कहाँनेर कसले गोली चलाउने हो ठेगान छैन,’ उनले भने, ‘सिमापारीबाट आउने व्यक्तिका गाडी खानतलासी हुँदैनन । अरु कुरा नरोकेपछि हतियार त रोक्नु पर्यो ।’ त्रासका कारण मर्निङ वाक समेत प्रभावित भएको ती व्यवसायीले बताए ।

त्यस्तै कपिलवस्तु जिल्लामा अहिले दिनदहाडै लुटपाट र चोरी तस्करीका घटना बढेका छन् । २४ सैं घण्टा सुरक्षा पहरामा हुने जिल्ला प्रहरी मुख्यालयको मूल गेटअघिबाटै मोटरसाइकल चोरी हुँदा स्थानीय त्रस्त बनेका छन् । यशोधरा गाउँपालिका–७ स्थित सीमा प्रहरी चौकी मर्यादपुर नजिकै मंगलबार बिहान २ सय १८ बोरा भारतीय युरिया मल भन्सार कार्यालय, सुठौलीले बरामद गर्यो । दशगजादेखि सय मिटर नेपाली भूभागतिर र प्रहरी चौकीदेखि दुई सय मिटर पश्चिम उक्त मल बेवारिसे रूपमा फेला परेको हो । तर, प्रहरी चौकी नजिकै रहेको उक्त मल डेढ किमि पर उत्तरमा रहेको सुठौली भन्सार कार्यालयका अधिकारी पुगेर बरामद गरे ।

भन्सार अधिकृत किरण विष्टले बीओपी डंगरीका सशस्त्र प्रहरी लिएर गई उक्त मल बरामद गरी कार्यालयमा ल्याएका हुन् । आफूलाई सूचना आएपछि पुगेर बरामद गरेको उनले बताए । प्रहरी चौकीको बेवास्ता र अनभिज्ञताले चोरी तस्करीको घटनाले बल पाएको छ । ५० किलो तौलका युरिया मल २ लाख ३५ हजार रुपैयाँ बराबरको छ । मल तस्कार गर्ने भने फरार छन् । त्यस्तै गत कार्तिक १५ गते वाणगंगा नगरपालिका–६ स्थित लक्ष्मणघाट चोकमा चिया नास्ता र किराना पसल संचालन गर्दै आएकी महिलाको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले घाँटीबाटै सुनको सिक्री लुटेर फरार भए ।

कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित प्रहरी कार्यालयको गेटदेखि सय मिटर पश्चिमतर्फ राखिएको मोटरसाइकल चोरी भएको ७ दिनपछि प्रहरीले बल्लतल्ल फेला पारेको छ । तर, चोरसम्म भने प्रहरी पुग्न सकेन । गत कार्तिक १८ गते काम विशेषले जिल्ला प्रहरी कार्यालय पुगेका कपिलवस्तु नगरपालिका, धर्मपनियाका चतुर्भुजमणि त्रिपाठीको लु ४ प ४४०७ नम्बरको मोटरसाइकल दिउँसो ३ बजे चोरी भएको थियो । मोटरसाइकल भने सीमाको भारतीय बजारमा फेला पारेर प्रहरीले ल्याएको छ । घटनाका विषयमा अनुसन्धान गरिरहेको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।