June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

फरार कैदीबन्दी मध्ये ५ हजार १३ जना सम्पर्क बाहिर

Advertisement

भैरहवा–गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनको क्रममा मुलुकका विभिन्न जेलबाट फरार भएका कैदीबन्दीहरूमध्ये अझै ५ हजार १३ जना फरार रहेको जानकारी दिएका छन् ।

Advertisement

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले जेन–जी आन्दोलनको क्रममा भागेका कैदीबन्दी मध्य ९ हजार ४ सय ४१ जनालाई फिर्ता ल्याइएको बताए ।

उनका अनुसार, गत भाद्र २३ र २४ का घटनामा देशका विभिन्न कारागारबाट १४ हजार ५ सय ५४ कैदीबन्दी फरार भएका थिए । अहिले ५ हजार १३ जना पक्राउ गर्न बाँकी छन् । फिर्ता आउन बाँकी रहेका कैदी बन्दीलाइ आत्मसमर्पण गर्न पटक पटक सूचना निकालेर आग्रह गरेको उनले बताए ।

देशभरका कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको जानकारी उनले दिए । फरार कैदी बन्दीको खोजतलासका लागि सबै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । सुरक्षा तहमा विशेष अपरेसन समेत जारी रहेको भनाइ गृह मन्त्रालयको छ ।

फरार कैदीहरूको सूची सार्वजनिक गरी सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा नदिन सबै निकायमा पत्राचार गरिएको मन्त्री अर्यालले बताएका छन् ।