तस्कर र सशस्त्र प्रहरी बिच झडप हुँदा हवाइफायर


भैरहवा–तस्कर र सशस्त्र प्रहरी बिच झडप हुँदा पश्चिम नवलपरासीको नेपाल–भारत सीमानजिकै बसैया नाकामा गए राती हवाईफायर भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका बसैया नाकामा बुधबार राति करिब १२ बजे तिर तस्कर र सशस्त्र प्रहरी बिच झडप हुँदा दुई राउण्ड हवाई फायर भएको हो ।
बसैया नाकामा सुरक्षा जाँच गर्नेक्रममा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको र झडप हुँदा हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका प्रमुख सन्तोष रायमाझीले बताए ।
मध्यरातमा ६ वटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका मानिसलाई जाँच गर्नेक्रममा झडप भएको हो । उनीहरुले सुकेका माछा भारतबाट नेपाल ल्याउँदै गरेको भेटिएको छ । सशस्त्र प्रहरी निरीक्षक सहितको टोलीमाथि तस्करको समुहले आक्रमणको प्रयास गरेका हुन ।
प्राप्त सुचना अनुसार, सुरक्षाकर्मीको टोलीसँग पहिले ६ जनाले विवाद गरेको र विवाद बढ्दै जाँदा भारततर्फ बाट थप ३०३५ जना मानिसहरु आएर हुल हुज्जत गरेका थिए । स्थिति नियन्त्रणमा लिन हवाई फाएर गरेपछी तस्करीमा संलग्न मानिसहरु भारततर्फ नै भागेको सशस्त्र प्रहरीले जनाएको छ । भाग्नेक्रममा करिब १ सय ५० किलो जति सुकेको माछा बरामद गरेको छ ।








प्रतिकृया दिनुहोस्