राजस्व चुहावट र सीमा क्षेत्र हेर्नेगरी सशस्त्रले लुम्बिनीमा खटायो एसएसपी


भैरहवा– लुम्बिनी प्रदेशसँग जोडिएका मुख्य सिमानाकाबाट हुने राजश्व चुहावट लगायत्का अवैध गतिबिधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजितलाई खटाएको छ ।
उनले प्रस्तावित सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म, कृष्णनगर, कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म, जमुनाह, बाँकेमा रहेर लुम्बिनी प्रदेशका अन्य सीमा नाकाको निगरानी गर्नेछन् ।
पछिल्लो समय रुपन्देही, कपिलबस्तु, पश्चिम नवलपरासी लगायतका लुम्बिनी प्रदेशसँग जोडिएका सिमावर्ती भारतीय सिमा नाकाबाट ठुलो परिमाणमा तस्करी भैरहेका छन् । भने, खुल्ला सिमाना व्यवस्थित बनाउन नसक्दा सिमा क्षेत्रबाट खुलेआम तस्करी भैरहेकाले स्वदेशी व्यवसाय संकटमा परेको गुनासो आम व्यवसायीले सार्वजनिक रुपमा गर्दै आएका छन् ।
राजश्व चुहावट नियन्त्रण गर्ने र भारतसँगको खुल्ला सिमानाबाट हुने अवाञ्छित गतिबिधि नियन्त्रण गर्ने उद्देश्यले भारतसँगको मुख्य सिमा नाकाहरु हेर्ने गरि सशस्त्र प्रहरी बलले लुम्बिनी लगायत चार प्रदेशमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई खटाएको हो ।
सशस्त्र प्रहरी बलले कोशी, मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा रहेका मुख्य सिमा नाकाहरु हेर्ने जिम्मेवारीका साथ सशस्त्रका एसएसपीहरुलाई कार्यक्षेत्र तोकेर खटाएको छ । उनीहरूले सम्बन्धित सीमा क्षेत्रमा खटेर राजश्व चुहावट, चोरीनिकासी तथा पैठारी सम्बन्धी गैर कानूनी कार्यमा रोक लगाउनुका साथै सो कार्यमा संलग्न देखिएका व्यक्तिहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउने सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाए ।
प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङमा रहेर काम गर्ने गरी कोशीमा सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीलाई खटाइएको छ । माधवप्रसाद पौडेललाई सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्सामा रहेर मधेश प्रदेशका अन्य सीमा नाकाको समेत निगरानी गर्ने गरि खटाइएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरमा रहेर सुदुरपश्चिमको प्रदेशका लागि गंगाराम श्रेष्ठलाई खटाइएको छ ।
सीमा नाकामा खटाइएका एसएसपीहरूले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको समन्वयमा तोकिएको इकाइमा बसी दैनिक तथा साप्ताहिक रुपमा आफूले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन बुझाउने छन् ।








प्रतिकृया दिनुहोस्