June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

शैक्षिक संस्थाका प्रतिनिधिको प्रतिबद्धता– लुम्बिनी महोत्सव सफल बनाउन लाग्छौं

Advertisement

भैरहवा– शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले रुपन्देहीको भैरहवामा सञ्चालन हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) लाई सफल बनाउन लागिपर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले महोत्सवलाई सफल बनाउन सबैको साझा जिम्मेवारी भएकोे भन्दै आफूहरुको तर्फबाट सबै किसिमका सहयोग हुने बताए ।

Advertisement

महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको शैक्षिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसँगको बैठक तथा छलफलमा उनीहरुले उक्त प्रतिबद्धता जनाएका हुन् । भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले महोत्सव उद्घाटन अघि निकालिने र्यालीलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले आर्थिक क्षेत्रलाई माथि उकास्न महोत्सव फलदायी हुने जनाउँदै यसमा आफूहरु सहयोग रहने स्पष्ट पारे ।

रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख मञ्जु खनालले मेला सफल पार्नु सबैको साझा जिम्मेवारी भएको जनाइन् । उनले खेलकुद प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराउनुपर्नेमा समेत जोड दिइन् । महोत्सव यही मंसिर ३ देखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा आयोजना गरिएको छ ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिकले महोत्सवमा शैक्षिक प्रदर्शनी राख्नुपर्ने बताए । ‘महोत्सवमा यहाँका विद्यालय र विद्यार्थीहरुले गरेका उपलब्धीबारे प्रदर्शन गर्न सकिन्छ’, उनले भने, ‘हामी सबै मेला सफल पार्न लाग्छौं । तर, विद्यालयहरुलाई पनि समेटियोस् ।’

काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्रप्रसाद घिमिरेले महोत्सवमा धेरै भन्दा धेरै दर्शक जाने वातावरण बनाउनुपर्नेमा बताए । सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष समसाद इद्रिसीले खेलकुद, चित्रकला, लोक नृत्य प्रतियोगिता, नेपाली भेषभुषाको प्रदर्शनीबारे ध्यान दिन आयोजकलाई आग्रह गरे । नृत्य प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराउन उनका अनुरोध छ । विद्यार्थीहरुलाई महोत्सव अवलोकनका लागि प्रेरित गर्नुपर्नेमा उनको जोड छ ।

मन्टेश्वरी मेमोरियल स्कूलका प्रिन्सिपल धर्मेन्द्रकुमार मिश्रले र्यालीलाई व्यवस्थित गर्नुपर्ने बताए । बृहस्पति माविका प्राचार्य गोमा आचार्य, रुपन्देही लीलाराम न्यौपाने माविका प्राचार्य रुपकुमार रायमाझी, भैरहवा नमूना माविका प्राचार्य बासुदेव पौडेल, ब्राइट स्टार ईङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल एलबी रौतार र साई ग्लोबल माविका प्राचार्य लक्ष्मण ज्ञवालीले महोत्सव सफल पार्नका लागि सहयोग गर्न तयार रहेको बताए । स्थानीय कला, संस्कृतिको प्रवद्र्धन गर्ने खालका कार्यक्रम महोत्सवमा सञ्चालन गर्नुपर्ने बताए । उनीहरुले सबैले हातेमालो गरेर महोत्सव सफल पार्नुपर्ने जनाए ।

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले महोत्सवमा ‘शैक्षिक प्याभेलिएन’ राखिने बताए । ‘टिकट काटेर महोत्सवस्थलमा प्रवेश गरिसकेपछि टिकटदर सस्तो नै छ भन्ने अनुभूति हुनेछ,’ उनले भने । संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले आफूहरुले शिक्षा क्षेत्रलाई महोत्सवमा प्राथमिकता दिएको । ‘विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्छौं’, उनले भने, महोत्सव सफल पार्न सबैले साथ दिऔं ।’ सल्लाहकार तथा महोत्सवका र्याली संयोजक टीकाराम भट्टराईले महोत्सवमार्फत विद्यार्थीले धेरै कुरा सिक्न पाउने बताए ।