June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

कपास विकास समितिको जग्गा कब्जा

Advertisement

बर्दिया– जिल्लाको मधुवनस्थित कपास विकास समितिको जग्गा हडप्न गिरोह सक्रिय बनेको छ । सशस्त्र द्वन्द्वकालमा माओवादीले उक्त जग्गा कब्जा गरेको थियो । २०६४ सालमा जग्गाबाट अतिक्रमण हटाएर सशस्त्र प्रहरी बसिरहेको थियो । सशस्त्र प्रहरी बल ४ वर्षअघि नेपाल ३१ नम्बर गण गुलरिया नगरपालिका–८ सुरजपुर सरेपछि उक्त जग्गा खाली हो ।

Advertisement

उक्त जग्गा पाँच महिना अवधिमा दुई पटक अतिक्रमण प्रयास गरिएको छ । गत असारमा कपास विकास समितिसँग कुनै समन्वय नगरी बाटो निकाल्ने बहानामा मधुवन नगरपालिकाले उक्त जग्गामा लगाइएको तारबार भत्काएर २७ वटा सगुन र सिसौं जातका हरिया ठूला रुख फँडानी गरेको थियो । कपास विकास समितिले निवेदन दिएपछि जिल्ला प्रशासनले तत्काल फँडानी रोके पनि मधुवन नगरपालिकालाई कारवाहीको दायरामा ल्याइएन । मधुवन नगर कार्यपालिका प्रवक्ता तथा वडा ८ का वडाध्यक्ष मेखबहादुर गुरुङले उक्त जग्गाबाट बाटो खोल्ने कार्यपालिकाको निर्णय अनुसार केही रुख काटेको बताए ।

नगरपालिकाले उक्त जग्गाको तारबार भत्काएर बिरुवा फँडानी गरेदेखि जग्गा बिना घेरबार थियो । सोही जग्गा कब्जा गर्ने उद्देश्यले गत कात्तिक १६ गते रातारात १ सय ५० बढी व्यक्तिले टहरा बनाएर बसेका थिए । नेपाल शुद्ध भूमिहीन स्वतन्त्र पार्टीको ब्यानर राखेर बर्दिया, दैलेख, जाजरकोट लगायतबाट आएका भूमिहीनहरु बसेका थिए । कपास विकास समितिको जग्गा कब्जा गरेका व्यक्तिहरुलाई सोही रात प्रहरीले हटाएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । ‘जग्गा तारबार गर्न समितिलाई भनेको छु,’ प्रजिअ हमालले भने ।

समितिका कार्यकारी निर्देशक वीरेन्द्रराज पराजुलीले असारमा मधुवन नगरपालिकाले तारबार भत्काएकाले नयाँ लगाउन लागत इस्टिमेट बनाउने काम भइरहेको बताए । ठेक्का प्रक्रियामा गएर चाँडै तारबार लगाइने उनले बताए । २०३७ सालमा स्थापना भएको कपास विकास समिति २०४६ देखि २०६०सालसम्म नाफामा चलेको थियो । समिति हाल सरकारी अनुदानमा चल्न बाध्य छ ।