July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

ओमसतिया मेलामा कुस्तीः भारतीय पहलमानको वर्चश्व

Advertisement

भैरहवा– भारतको आग्राका हरिन्द्र पहलमानले रुपन्देहीको ओमसतियामा आयोजित कुस्ती प्रतियोगिताको उपाधि जितेका छन् । बिहीबार भएको फाइनल स्पर्धामा हरिन्द्रले भारतकै हरियाणाका हर्दिप पहलमानलाई पराजित गरी प्रथम हुन सफल भए ।

Advertisement

कार्तिक शुक्लपूर्णिमाको अवसरमा आयोजित सतियामाई मेलाको अन्तिम दिन बिहीबार दर्शकको मनोरञ्जनका लागि कुस्ती प्रतियोगिता आयोजना गरिएको थियो । ओमसतिया–५, का वडाध्यक्ष मदनकुमार पोखरेलका अनुसार विजेता हरिन्द्रले नगद ४० हजार पुरस्कार प्राप्त गरेका छन् ।

फाइनल प्रतिस्पर्धाका लागि १५ मिनेट समय तोकिएको थियो । हरिन्द्रले उत्कृष्ट कौशल प्रदर्शन गर्दै हर्दिपलाई निर्धारित समय पूरा नहुँदैं ५ मिनेटमै पराजित गरेका थिए । कुस्ती बिजेता हरिन्द्रलाई मेला आयोजक समिति र वडाध्यक्ष पोखरेलले पुरस्कार प्रदान गरे ।

यस्तै, दोस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा भारतको नयाँ दिल्लीका पवन पहलमानले भारतीय शारिक हरिद्वारलाई पराजित गरेका छन् । उनीहरुबीच टक्करका लागि १५ मिनेट समय प्रदान गरिएको थियो । दुबैबीच कडा प्रतिपष्र्धा भइरहेका बेला शारिकको बायाँ खुट्टाको घुँडाको चोट बल्झिएको थियो । त्यसपछि उनले प्रतिष्पर्धा त्यागेका थिए । त्यसपछि आयोजकले पवनलाई बिजेता घोषित गरे । दोस्रो स्थान प्राप्त गरेका पवनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

मेलास्थलमा तयार गरिएको अखडामा बिहीबार बिहान ८ बजेबाट कुस्ती प्रतियोगिता सुरु भएको थियो । ओमसतियाकै कुस्तीबाज लक्की थापाले पहलमान ल्याउन संयोजन गरेका थिए । कुस्तीमा प्रतिष्पर्धा गर्न भारतको महाराजगन्ज, गोरखपुर, नयाँदिल्ली, हरियाणा र पन्जावबाट पहलमान आएका थिए । आयोजकका अनुसार मेलामा नेपाल–भारतका करिब ३० बढी पहलमान सहभागी थिए ।

मेलास्थलको अखडामा कुस्ती अवलोकनका लागि सर्वसाधरणको अत्यधिक भीड लागेको थियो । कुस्ती तराईका जिल्लामा अत्यधिक रुचाइएको खेलमध्ये रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष देवानन्द चौधरीले बताए । प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको जनाउंदै उनले कुस्ती मेलाको मुख्य आकर्षण बनेको बताए ।