भैरहवामा यु–१९ क्रिकेट टीमको प्रशिक्षण सुरु


भैरहवा– रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा यु–१९ क्रिकेट टीमको प्रशिक्षण शिविर सुरु भएको छ । एसियन क्रिकेट काउन्सिल (एससी) को आयोजनामा युएईमा हुने एसिया क्वालिफायरका लागि नेपाली यु–१९ राष्ट्रिय टीम छनोटका लागि प्रशिक्षण शिविर सुरु भएको हो ।
एसीसीको आयोजनामा यही नोभेम्बर १९ देखि ३० गतेसम्म युएईमा एसिया क्वालिफायर हुँदैछ । यु–१९ को राष्ट्रिय टीम बनाउन सुरुमा ३० जना खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको छ । खेलाडीहरुलाई प्रशिक्षक मन्जित श्रेष्ठ र धिरेन्द्र चन्दले प्रशिक्षण दिइरहेका छन् । सिद्धार्थ रंगशालामा ३० जना खेलाडीहरुको छुट्टाछुट्टै टीम बनाएर आन्तरिक स्पर्धा समेत गराइरहेको मुख्य प्रशिक्षक मन्जित श्रेष्ठले जानकारी दिए । उनले चार दिनसम्म प्रशिक्षण चल्ने र त्यसपछि उत्कृष्ट प्रदर्शन गर्ने, अनुभव लगायत सबै पक्षलाई हेरेर १८ खेलाडी छनोट गरिने जनाए । उनका अनुसार भैरहवामा प्रशिक्षण शिविर सकिएपछि यु–१९ को राष्ट्रिय टीम घोषणा गरिनेछ ।
प्रशिक्षणमा देशभरका विभिन्न जिल्लाका खेलाडीहरुलाई सहभागी गराइएको छ । प्रशिक्षणका क्रममा ४ वटा आन्तरिक प्रतिस्पर्धात्मक खेलहरु हुने छन् । जसमा दुईवटा खेल भइसकेका छन् । रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले सिद्धार्थ रंगशाला वर्षा याममा समेत तयारी अवस्थामा राखिएकाले यु–१९ को टीमले राम्रो र उत्कृष्ट मैदानमा प्रशिक्षण लिइरहेको जनाए ।








प्रतिकृया दिनुहोस्