बुटवलको ‘सुपरहिट’ देउसी–भैलो


भैरहवा– यसपटक तिहारमा बुटवलमा खेलिएको अर्गानिक देउसी–भैलो खुबै रुचाइयो । जसले गर्दा संस्कृति जगेर्ना गर्ने उद्देश्य राखेर खेलिएको उक्त देउसी–भैलो बुटवलको ब्राण्ड बन्न सफल भएको छ । स्थानीय युवाले लोक आधुनिक भाकाका गीतमा पस्केको परम्परागत पहिरनको नृत्यलाई धेरै मन पराइएको छ ।
सामाजिक सञ्जाल टिकटक खोल्ने वित्तिकैं यही देउसी–भैलो देखिन्छ । टिकटकमा पोष्ट गर्नेमात्र होइन, लाइक, कमेन्ट र रिपोष्ट गर्ने अत्यधिक छन् । धेरैले मन जितेको देउसी–भैलो भन्दैं प्रतिक्रिया दिने गरेका छन् । अर्घाखाँची–हंसपुर सम्पर्क समाज, रुपन्देहीले मुलुक भित्र र बाहिर रुचाउनेगरि देउसी–भैलो कार्यक्रमको आयोजना गरेको हो । समाजका कलाकार यसअघि अरुले अनुरोध गरेपछि भैलो खेल्न जाने गर्थे । यसपटक आफैले आयोजना गरेका हुन् । पहिलो आयोजनामै उनीहरुको देउसी–भैलो कार्यक्रम सुपरहिट बनेको हो ।
कार्तिक १५ गते बुटवल–११, देवीनगरमा सञ्चालन गरिएको देउसी–भैलोमा जिल्लाबासी नै उर्लिएर पुगेका थिए । देवीनगरमा १० हजार भन्दा बढीले देउसी–भैलो अवलोकन गरेका थिए । यसबाट पनि अर्गानिक भैलोको के्रज प्रष्ट हुन्छ । देउसी–भैलो कार्यक्रममा आधुनिक बाजा र डीजेको प्रयोग बढेका बेला समाजका कलाकारले परम्परागत बाध्यबाधनलाई जोड दिएका थिए । समूह नृत्यमा दुई युवकले नृत्यको चालमा मादल बजाइरहेका हुन्थे । त्यही तालमा दुई युवती अगाडि नाच्थे । कलाकारले गीतसंगीत मात्र होइन दर्शकलाई पनि बाँधेर राख्ने गरेका थिए । दर्शक कहिले भावुक हुन्थे त कहिले मजैंले हाँस्थे ।
सामाजिक सञ्जालमा देउसी–भैलो भाइरल बनेपछि स्थानीय आफैंले अवलोकनका लागि सोधीखोजी गरेका थिए । समाजले बुटवल उपमहानगर र आसपासका मुख्य चोकमा देउसी–भैलो कला प्रस्तुत गरेका थिए । कार्यक्रमका संयोजक रेशमबाबु खनालले संस्थाका सदस्यलाई एक महिनाजति लगाएर परम्परागत बाजाको तालमा नृत्य गर्ने तरिका सिकाएको बताए ।
संस्कृति जगेर्ना गर्ने उद्देश्यले समाजले गतवर्षदेखि देउसी भैलो कार्यक्रम गर्न थालेको बताए । नृत्य र बाध्यबाधनमा गरेर ११ जना कलाकार खटिएको उनले जनाए । परम्परागत भेषभुषा झल्किने पोशाकमा मादलुको तालमा नृत्यु गरेका कारण कलाकार लोकप्रिय बनेका थिए । समाजका हरेक सदस्यले भैलो व्यवस्थापनमा भूमिका खेलेको खनालले बताए ।
यसवर्ष तयारीमा जुटिरहेकाबेला जेन–जी आन्दोलन भएकाले सोचेअनुरुप तयारी गर्न नसकिएको उनको भनाई छ । ‘एकादशीको दिनसम्म हाम्रो नृत्य मन पराएर धेरै जना हेर्न आउनुहुन्छ भन्ने आंकलन गरेका थियौं, त्यही अनुसार डिस्प्ले लगाएर देखाउने इच्छा थियो,’ उनले भने, ‘तर भीड देख्दा डर पनि लाग्यो, सम्हाल्नै सकिँदैन कि जस्तो भयो । केही समस्या पो आइपर्छ कि भनेरर व्यवस्थापन त्यहीअनुसार गर्न सकिएन ।’
देउसी–भैलो कार्यक्रमका लागि गतवर्ष आफूहरुलाई अन्य एक संस्थाले २ लाख रुपैयाँ दिएर नृत्य गरिदिन अनुरोध गरेकोमा यसवर्ष आफैले खेलेर ४ लाख नगद जम्मा भएको उनले बताए । ‘केही रकम समाजको खातामा जम्मा गर्ने र अन्य पैसा कलाकार, साउण्ड सिस्टम, गाडी व्यवस्थापनमा खर्च गरेका छौं,’ उनले भने, ‘कम्तिमा नेपालमा बसेर पढ्दै गरेका, काम गर्दै गरेका हामीले नेपाली संस्कार जोगाउन सके, नेपालको शान उचो हुन्थ्यो भन्ने लागेर नै गरिएको हो ।’
यसपाली भैलोमो समूहका कलाकारले ‘शिरै शिरफूल, बहिनी ज्युले माग्छिन् हो, आ बसे माइती राजै म त जान्छु स्वामीको साथ’ भन्ने गीत गाएका थिए । साथै यही गीतमा गरिएको नृत्य धेरैले रुचाएको देखिन्छ । रेशमले बेलबासस्थित आफ्नो डीजीएस नृत्य कलाकेन्द्रमा कलाकार बोलाएर नृत्य सिकाएका थिए । खनाल आफैले ‘जिन्दगीमा मलाई दुई कुराले ठग्यो, एउटा आफ्नो रुपैले हो अर्को माया’ले लगायतका गीतमा नृत्य गरेका थिए ।
उनीहरुले प्रस्तुत गरेका नृत्यका भिडियोलाई दर्शकले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सबैभन्दा धेरै टिकटकमा उनीहरुका नृत्य भाइरल छन् । सामाजिक संजालमा देखेपछि बुटवल र आसपासबाट भैलो हेर्न पुग्ने धेरै थिए । २०७२ सालमा गठन भएको समाजले विभिन्न समयमा सहयोगका कार्यक्रम, अन्य कार्यक्रम गर्दै अघि बढीरहेको संस्थाका उपाध्यक्ष समेत रहेका खनालले बताए ।








प्रतिकृया दिनुहोस्