June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

चिताएको पुर्‍याउने विश्वासले सतियामाई मेलामा श्रद्धालुको ओइरो

Advertisement

भैरहवा– रुपन्देहीको ओमसतिया–५, गौरीमा एकादेशीबाट लागिरहेको सिलौंटिया मेलामा बुधबार पाइला टेक्ने ठाउँ थिएन । एकादशीदेखि कार्तिक पूर्णिमासम्म सञ्चालन हुने मेलामा पुगेर भाकल गरेको कुरा सतियामाईले पूरा गर्ने विश्वासका कारण श्रद्धालुको ओइरो लाग्ने गरेको हो । बोलीचालीमा सिलौंटिया भनिने सतियामाई मेलाको बुधबार मुख्य दिन थियो । त्यसैले पनि रुपन्देहीका विभिन्न पालिकाबाट मेला भर्न जाने सर्वसाधरणको घुइँचो लागेको हो ।

Advertisement

बुधबार बिहानैदेखि सर्वसाधरण आफ्ना लालाबालासहित मेलास्थल पुगेका छन् । रोहिणी किनारको सतियामाई मन्दिर आसपासको मैदानमा मेला सञ्चालन गरिएको छ । सञ्चालनका लागि मेला व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समिति र वडा कार्यालयले मेला व्यवस्थापनमा भूमिका खेलिरहेको समितिका अध्यक्ष देवानन्द चौधरीले जानकारी दिए ।

दर्शनार्थीको भीड थेग्न समस्या हुने भएकाले रोहिणी पुलबाट सर्वसाधरणलाई ओहोरदोहोरमा रोक लगाइएको थियो । ‘यहाँ हरेक वर्ष यस्तै दर्शनार्थी आउने गर्छन्’, उनले भने, ‘त्यसैले हामीले हरेक वर्ष मेलालाई थप व्यवस्थित गर्दै आइरहेका छौं ।’ दर्शनार्थीको भीडपछि नदी पार गर्न झोलुङ्गे पुलमुनी अस्थाई कज–वे निर्माण गरिएको छ । मध्यान्हसम्म कज–वेबाट यात्रा गर्न सहज थियो । तर, अपरान्ह भीडका कारण बोरामा माटो भरेर बनाइएको कजवे पार गर्न मुश्किल भइसकेको थियो ।

आँपको बगैंचाभित्र सञ्चालन गरिएको मेलामा घरायसी आवश्यकताका सामानसँगैं भाँडाकुँडा, खेलौंना, लत्ताकपडाका पसल छन् । मेलामा सबैंभन्दा धेरै मिठाईका परिकार छन् । मेलास्थलमा विभिन्न मिठाईका परिकारका चाङ लगाएर राखिएको थियो । ठाउँ–ठाउँमा पान पसल छन् । मेलामा तयार गरिएका रंगिन जिलेवीमा सर्वसाधरणको रुची थियो । साथै मेलास्थलमा चटपटे, फुल्की टिकिया, पकौंडा, चाउमिन, मम लगायत खाजाका परिवारमा ग्राहकको भीड थियो । मेलामा मनोरञ्जनका लागि विभिन्न खेल आयोजना गरिएको थियो । मेलास्थलको दक्षिणी किनारमा मांसहारी खानाका स्टल थिए ।

ती स्टलमा गाउँघरमा जस्तै माछा–मासु पकाएर भुँइमै बसेर खानपिन गर्ने व्यवस्था थियो । सतियामाई मन्दिरभित्र भण्डारा व्यवस्था गरिएको छ । भने मन्दिर परिसरमा साधुसन्तले भजनकिर्तन गरिरहेका थिए । मन्दिरको उत्तरपट्टि चलिरहेको रामलीलामा भक्तजनको आकर्षण देखिन्थ्यो । सयौं वर्षअघिदेखि गाउँपालिकामा लाग्दैं आएको मेलाको धार्मिक महत्व छ । मेलामा बिहीबार बिहान ८ बजेदेखि कुस्ती आयोजना गरिने ओमसतिया–५ का वडाध्यक्ष मदनप्रसाद पोखरेलले जनाए । ‘कुस्ती स्पर्धामा भारतका गोरखपुर, महाराजगन्ज र दिल्लीबाट समेत पहलमान बोलाइएको छ’, उनले भने ।

वर्सेनि लाग्ने यो मेलाले धार्मिक मान्यताको विस्तार गरेको छ भने आर्थिक क्षेत्रलाई चलायमान समेत गरेको छ । साथै धर्मसंस्कृति र स्थानीय उत्पादनको प्रबद्र्धन गर्न टेवा पनि पुर्याउँदै आएको छ ।