June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

माला र खादा लगाउँदै स्वागत थाप्न भन्दै जाँदिन : प्रजिअ पोखरेल

Advertisement

भैरहवा– रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधवप्रसाद पोखरेलले माला र खादा लगाउँदै स्वागत थाप्दै हिंड्ने चाहना आफ्नो नभएको बताएका छन् । एउटा सिमामा रहेर गरिने स्वागत कार्यक्रमलाई मात्र आफूले स्विकार गर्ने उनले बताए ।

Advertisement

रुपन्देही जिल्लाको प्रशासनिक जिम्मेवारी सम्हाल्न सोमवार आइपुगेका प्रजिअ पोखरेलले मंगलवार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै सुशासन र जनतालाई प्रदान गरिने सेवाप्रवाह आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

‘माला र खादा लगाउँदै स्वागत कार्यक्रममा धेरै हिंड्ने चाहना मेरो छैन’, उनले भने, ‘स्वागत थाप्न भन्दै घरघर जान्नँ । स्वागत गर्न चाहने संघसंस्थाहरुलाई यही कार्यालयमा आएर गर्न भनेको छु ।’

रुपन्देहीमा क्यासिनो, खोला–नदीको ठेक्का, तस्करसँग सुरक्षा निकायको हुने साँठगाँठबाट प्रशासनिक निकाय बद्नाम हुने गरेको वारेमा पत्रकारहरुले ध्यानाकर्षण गराएको बिषयप्रति उनले जनताको प्रत्यक्ष सवालसँग जोडिएको बिषयप्रति आफ्नो पहिलो प्राथमिकता रहने बताए ।

सुशासन र सेवाप्रवाहको बिषयमा आउने उजुरी तथा गुनासोलाई पाथमिकता दिँदै क्रमिक रुपमा कार्यान्वयन गर्दै जाने उनले बताए । सुशासन र सेवाप्रवाहलाई प्रभावकारी बनाउने र अन्य अवैध गतिबिधि नियन्त्रणका लागि पत्रकारसँग सम्बन्धित सँघसंस्थाहरुसँग निरन्तर समन्वय गर्ने उनले जनाए ।

‘प्रशासनको नियमनकारी भूमिका धेरै हुने भएकाले यसलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्छु’, पोखरेलले भने, ‘यसका लागि रुपन्देहीका जनताले सेवाप्रवाह र सुशासनमा कस्तो खोजेका छन् ? त्यसवारेमा बुझदै छु ।’ जनताको समसामयिक सवालमा सुधार गर्ने योजना आफ्नो भएको सुनाउँदै उनले रुपन्देहीमा दण्डहिनताको अन्त्य र कानुन कार्यान्वयनको हकमा आफू कटिबद्ध रहेको उल्लेख गरे ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायामाझीले रुपन्देही प्रमुख जिल्ला अधिकारीका लागि काम गरेर देखाउने अवसर र चुनौती दुवै भएको बताए । ‘बिगतमा कतिपय प्रशासक आर्थिक प्रलोभनमा परेर बिवादमा आएका छन्’, रायमाझीले भने, ‘क्यासिनो र तस्करी नियन्त्रणमा प्रशासनिक भूमिका प्रभावकारी देखिएको छैन ।’

‘प्रमुख जिल्ला अधिकारी नेता बन्दै माला र खादा लगाउँदै कार्यक्रममा हिंड्ने की सुशासन र सेवाप्रवाहलाई प्रभावकारी बनाउने ?’ प्रश्न उठाउँदै रायमाझीले क्यासिनोका गाडीहरु बिना चेकजाँच सिमा क्षेत्रबाट भित्रिने गरेको बताए ।

लुुम्बिनी प्रेस क्लवका महासचिव प्रकाश न्यौपानेले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीहरु बढि बदनाम हुने गरेको नदी तथा खोलाको ठेक्का समयमैं लगाउनेतर्फ पहल गर्न सुझाव दिए । ‘यदि आर्थिक बर्षको अन्त्यमा ठेक्का लगाउने प्रचलनलाई तोडेर पुस–माघ महिना भित्रै खोलाको ठेक्का लगाएर ठेकेदारलाई एउटामात्र स्क्याभेटर प्रयोग गर्न दिने हो भने खोला–नदीको दोहन पनि रोकिन्छ र आर्थिक अनियमितताका कार्य पनि रोकिन्छन्’, उनले भने, ‘क्यासिनोको गाडी चेक नहुँदा हतियार लगायत अन्य विभिन्न अवैध कार्य मौलाएको छ ।’ रुपन्देहीमा सञ्चालित क्यासिनोहरुमा ५० प्रतिशत भन्दा बढी नेपाली नागरिकलाई अवैध रुपमा क्यासिनो खेलाइने गरिएको दावी उनले गरे ।

भेटघाट कार्यक्रममा मालपोत, नापी कार्यालयमा सेवाग्राहीसँग अवैध असुली हुने गरेको, स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत जनताको काम छाडेर आफूखुशी गर्ने गरेको, सरकारी साधनको दुरुपयोग हुने गरेको, नेपाली भन्सार एजेन्टसँग मिलेर भारतीय दलालको बिगबिगी बढेको, सरकारी कार्यालयमा कर्मचारीको उपस्थिति न्युन रहने गरेको, प्रमुख जिल्ला अधिकारी कार्यक्रमहरुमा भाषण गर्दै हिंड्ने गरेको लगायतका बिषय उठेका थिए ।

पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयकै विभिन्न फाँट लगायत अन्य विभिन्न सरकारी कार्यालयमा अनौपचारिक रुपमा नचिनिने गरेर अनुगमन गर्न सुुझाव दिएका थिए ।