July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

भैरहवाको निर्वाणा होटलका सुरक्षा गार्डमाथि गोली प्रहार

Advertisement

भैरहवा- रुपन्देहीको भैरहवामा रहेको होटल निर्वाणा लक्जरी इन्टरनेशनल परिसरमा गोली चलेको छ । गएराति १ बजेको समयमा होटल परिसरमा गोली चल्दा एकजना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।

Advertisement

रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले राति होटलका सुरक्षा गार्डमाथि गोली चलेको जानकारीमा आएको बताए । तर, घटना लगत्तै प्रहरी त्यहाँ खटिएको भए पनि गोलीको खोका भने नभेटिएको कार्कीले जनाए । प्रहरीका अनुसार गोली लागेर होटलका सुरक्षा गार्ड २७ वर्षीया मीनबहादुर परियार घाइते भएका छन् । उनको खुट्टाको तीघ्रामा गोली लागेको जनाइएको छ । परियार बुटवल उपमहानगरपालिका-१५ का बासिन्दा हुन् । उनले होटलमा सुरक्षा गार्डको काम गर्दै आएका थिए ।

घाइते परियारलाई राति नै उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा ल्याइएको थियो । उपचारपछि परियार डिस्चार्ज भइसकेको डीएसपी कार्कीले जानकारी दिए ।

घाइते परियारले अपरिचित व्यक्तिले पेस्तोल निकालेर आफूमाथि गोली प्रहार गरेको जनाएका छन् । प्रहरीका अनुसार होटल अगाडि केही व्यक्तिहरुबीच वादविवाद चलिरहेको थियो । त्यही क्रममा एक समूह होटलमा प्रवेश गर्न थालेपछि सुरक्षा गार्डले रोक्ने प्रयास गरेका थिए । तर, सुरक्षा गार्डमाथि नै गोली प्रहार भयो । ती व्यक्ति भारतीय नागरिक भएको अनुमान गरिएको छ ।

घटना लगत्तै एसपी प्रदीपबहादुर क्षेत्री, डीएसपी कार्की लगायतको टोली होटलमा पुगेका थिए । प्रहरीले सीमा क्षेत्रमा निकै कडाई गरेर गोली प्रहार गर्ने व्यक्तिको खोजी सुरु गरेको थियो । राति नै भारतीय समकक्षीसँग समन्वय गरी भारत प्रवेश र नेपाल प्रवेशमा कडाई गरिएको थियो । तर, सुरक्षा गार्डलाई गोली प्रहार गर्ने व्यक्ति अझै फेला परेका छैनन् । उक्त होटलमा क्यासिनो समेत संचालित छ । त्यसैले रातिमा पनि होटल संचालन हुँदै आएको छ ।