July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

रूपन्देहीमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्णः ट्राफिक प्रहरी प्रमुख केसी

Advertisement

भैरहवा– जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख ट्राफिक प्रहरी निरीक्षक रन्जु केसीले जिल्लामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले सबै सरोकारवाला निकायले ध्यान दिन जरुरी भएको बताएकी छन् ।

Advertisement

रुपन्देही ट्राफिकमा आफ्नो कार्यकाल सकिएर जान लागेकी केसीले सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अन्य जिल्लाको तुलनामा यहाँ सडक लगायतका पूर्वाधार राम्रो भएर पनि दुर्घटना धेरै हुने गरेको बताइन् ।

‘रुपन्देही जिल्लामा लुम्बिनी प्रदेशका अन्य जिल्लाको तुलनामा सडक र अन्य पूर्वाधार धेरै राम्रो भएर पनि दुर्घटना बढि हुने गरेको छ’, केसीले भनिन्, ‘चालकको लापरबाही हो वा सडक निर्माणकै क्रममा त्रुटिपूर्ण भएर हो ? भन्ने लगायतका बिषयमा खोजी गर्न आवश्यक छ ।’

केसी रुपन्देही ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी १४ महिनासम्म सम्हालेर सरुवा भएपछि बिदाइ भइ जाने तयारीमा छन् । रुपन्देही ट्राफिक प्रहरी प्रमुख भएर नेतृत्व सम्हाल्ने उनी पहिलो महिला प्रहरी हुन् ।

रुपन्देहीमा बढ्दो शहरिकण, पार्किङस्थलको अभाव, बढ्दो जनसंख्या र सवारी साधनको बढ्दो चाप लगायतका कारणले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको उनले बताइन् ।

‘ट्राफिक व्यवस्थापनका लागि फिल्डमा खटिने काम ट्राफिक प्रहरीको भए पनि स्थानीय पालिका, यातायात व्यवसायी, सडक बिभाग लगायतका सरोकारवाला निकायले ध्यान दिन जरुरी छ’, उनले भनिन्, ‘नगरपालिका क्षेत्रमा पार्किङस्थलको अभाव भएकाले तत्कालै भाडामा जमिन लिएर भए पनि पार्किङस्थल बनाउन जरुरी छ ।’

सिद्धार्थनगरमा अव्यवस्थित इ–रिक्सालाई व्यवस्थापन गर्न नगरपालिकासँग मिलेर दर्ता प्रक्रिया अगाडि बढाइएको उनले बताइन् । जेनजी आन्दोलन यता राजश्व संकलनमा प्रतिकुल असर परेको उनले बताइन् । उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कार्तिक १५ सम्म ८० लाख ४४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

जेनजी आन्दोलनको क्रममा जिल्ला ट्रफिक प्रहरी कार्यालयको भवन तोडफोड र आगजनी हुँदा राडार गन, प्रोजेक्टर लगायत ट्राफिक व्यवस्थापनका उपकरण, अनुशन्धानका क्रममा ल्याइएका सवारी साधनहरु, ट्राफिक प्रहरीको पोशाक, लाइसेन्स मोवाइल र अन्य भौतिक संरचनामा क्षती धेरै भएको छ ।

रुपन्देहीको ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने जनशक्तिको पनि कमी रहेको उनले जनाइन् । रुपन्देही ट्राफिकमा ३१ जनाको दरबन्दी रहे पनि दोब्बर संख्यामा आवश्यक रहेको भनाइ उनको थियो ।