पाल्पामा जेनजी राष्ट्रिय सम्मेलनः भ्रष्टाचारविरुद्धको साझा अभियानमा संगठित हुने


पाल्पा– राजधानीदेखि स्थानीय तहको वडातहसम्म आफ्ना गतिविधि विस्तार गर्दै भ्रष्टाचारमुक्त समाज, डिजिटल सेवा र सुशासन कायम गर्ने अभियानका साथ जेनजी समूहले पाल्पामा राष्ट्रिय सम्मेलन गरेको छ । सात वटै प्रदेश, केन्द्र र विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागितामा जेनजीले पाल्पामा पहिलो पटक राष्ट्रिय सम्मेलन गरेका हुन् । जेनजीको माग र अवधारणा बमोजिम पाल्पामा भदौ २३ र २४ गतेको आन्दोलन भएकोमा, आन्दोलनमा हजारौं व्यक्तिहरुको शान्तीपूर्ण प्रदर्शन भएको, सार्वजनिक तथा व्यक्तिगत कुनै पनि सम्पत्तिमा क्षती नपुर्याई जेनजीहरुको आन्दोलन भएकाले पाल्पालाई छनोट गरी राष्ट्रिय सम्मेलन गरिएको जेनजीका अभियान्ताहरुले बताएका छन् । राष्ट्रिय सम्मेलनले बडापत्र २०२५ जारी समेत गरेको छ ।
पाल्पामा जारी भएको जेनजी बडापत्र २०२५ ले दण्डहीनताको अन्त्य गर्न, पारदर्शी, जवाफदेही र समावेशी शासन प्रणालीको निर्माण गर्न सहयोग पुग्ने बडापत्रमा उल्लेख छ । युवाको नेतृत्वमा शुद्ध राजनीतिलाई पुनःस्थापित गर्न, भ्रष्टाचारमुक्त समाज र जिम्मेवार राज्यसंयन्त्रको आधार तयार गर्न, पूर्ण रूपमा अहिंसक तथा कानुनी राज्यको पालना गर्न मार्गदर्शन रहेको जेनजी अगुवा विपिन श्रेष्ठले बताए । जेनजी राष्ट्रिय सम्मेलनमा देशभरीका युवाहरुलाई दण्डहिनताको अन्त्य, सुशासन, जवाफदेहिता, राजनीति र भ्रष्टाचार विरुद्धको साझा अभियानमा संगठित गर्न जोड दिइएको थियो ।
केन्द्र, प्रदेश र स्थानीय सरकारका हरेक विषयमा पारदर्शिता, समता, जवाफदेहिता, समावेशिता, नागरिक सहभागिता, न्याय र समानता, अहिंसा र शान्तिपूर्ण परिवर्तन, पर्यावरणीय जिम्मेवारी बनाउन आगामी दिनमा नागरिक र जेनजी पुस्ताले गर्नुपर्ने काम कर्तव्य र जिम्मेवारीमा केन्द्रित रहेर पाल्पामा राष्ट्रिय सम्मेलन गरिएको अभियान्ता विज्ञान घिमिरेले बताए । सम्मेलनमा अभियान्ता घिमिरेले भ्रष्टाचारको शुरुवात हुने स्थान, पात्रहरुको बारेमा चर्चा गर्दै भ्रष्टाचारको अन्त्य र शुसासनका लागि जेनजीहरुको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नागरिकलाई अधिकार र जिम्मेवारी बनाउन सूचना प्राप्त गर्ने अधिकार, अभिव्यक्ति र सहभागी हुने अधिकार, सुरक्षित नागरिक सहभागिता जेनजीले सक्रिय भएर काम गर्ने र जनतालाई उत्तरदायित्व बनाउन नैतिक आचरण अपनाउने, शान्तिपूर्ण र रचनात्मक सहभागिता जनाउने, एकता र सहिष्णुता कायम गर्ने, उत्तरदायित्व नेतृत्व अभ्यास गर्ने, राष्ट्रिय सम्मेलनले निर्यण गरेको छ ।
कामहरुको जवाफदेहिता बढाउन वडा, स्थानीय, जिल्ला, प्रदेश र केन्द्र स्तरीय संयन्त्र निर्माण गरी सेवा प्रवाह, विकास निर्माणका कार्यमा अनुगमन तथा समन्वय गर्ने, नागरिकहरुसँग प्रत्यक्ष, फोन, क्युआर, अनलाइन तथा एप्स मार्फत् समन्वय, सहजीकरण गर्ने र एकदेखि सात दिनसम्म समस्याको समाधानका लागि कामको शुरुवात गर्ने राष्ट्रिय सम्मेलनले निर्यण गरेको छ । जेनजीले आगामी दिनमा पाल्पामा जारी भएको बडापत्रमा आधारित भएर कार्य गर्ने जनाएको छ ।
सम्मेलनले आगामी दिनमा भ्रष्टाचार विरुद्धको अभियान तथा सचेतना कार्यक्रम, खुला सूचना तथा डिजिटल पोर्टलको कार्यान्वयन, हरेक गतिविधिमा सूचनाको हक, कानुनी सहकार्यको लागि स्थानीय सरकार, जिल्ला प्रशासन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्वन्वय सहकार्य गर्ने जनाएको छ ।
सम्मेलनमा जेनजी अगुवा गुञ्जन सिंह ठकुरी, कोशी प्रदेशका संयोजक उपार्जन चाम्लिङ, बाग्मती प्रदेशका संयोजक अप्सना वानु, लुम्बिनी प्रदेशका संयोजक आदित्य आचार्य, सुदूरपश्चिम प्रदेशका संयोजक खेमराज साउद लगायत जिल्ला अध्यक्षहरुको सहभागिता थियो ।








प्रतिकृया दिनुहोस्