July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

अस्पतालमा शय्याको कमीले किमोथेरापी सेवा लिनुपर्ने बिरामी समस्यामा

Advertisement

बाँके- पश्चिम नेपालको एक मात्र सरकारी क्यान्सर अस्पताल बाँके स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा किमोथेरापी सेवा लिन आउने बिरामी शय्याको अभावले समस्या पर्न थालेका छन् ।

Advertisement

बाँकेको खजुरा गाउँपालिका–७ मा रहेको उक्त अस्पतालमा आवश्यकता अनुरुपको भौतिक पूर्वाधार अभाव भएकाले यो समस्या हुन थालेको हो । किमोथेरापी बिरामीका लागि छुट्याइएको सैयाको तुलनामा बिरामीको चाप दिनहुँ बढ्न थालेपछि सेवाग्राही बिरामी समस्यामा पर्न थालेका हुन् ।

किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीलाई शय्याको अभावमा दिनभर पालो कुर्नपर्ने बाध्यता छ । दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको गुनासो सम्बन्धित बिरामीको छ ।

किमोथेरापी सेव लिनु पर्ने बिरामी नेपालगञ्ज उपमहानगरपालिका–२१ क डिगम्बर रानाले किमाथेरापी सेवा लिन आफु उक्त अस्पतालमा जाँदा उहि दिन पालो नपाएर भोलीपल्टमात्र बल्ल सैया पाएको बताए ।

अस्पतालमा बिरामीको चाप दैनिकरुपमा बढ्दै जान थालेपछि अहिले अस्पतालले एउटै सैयामा दुईजना बिरामी राखेर समेत किमोथेरापी सेवा प्रदान गर्ने गरेको छ । अस्पतालमा सञ्चालनमा रहेको ‘डे केयर वार्ड’ मा सैयाको कमीले सेवा प्रवाहमा समस्या आएको अस्पतालका सूचना अधिकारी डा.प्रवीणकुमार गुप्ता बताउँछन् ।

उनका अनुसार, अस्पतालमा हाल ५५ शय्या मात्र सञ्चालनमा छन् । जसमध्ये किमोथेरापी सेवाकालागि सञ्चालित डे केयर वार्डमा २० वटामात्र सैया उपलब्ध छन् । किमोथेरापी सेवा लिने बिरामीको संख्या भने दैनिक करिब ५० हुने गरेको छ ।

अस्पतालमा १५ शय्याको डे केयर वार्ड भवन निर्माण भए पनि हस्तान्तरण नहुँदा सेवाग्राहीलाइ ति सैया उपलब्ध गराउन पाइएको छैन । ‘डे केयर वार्ड भवन हस्तान्तरण भए किमोथेरापी सेवा लिने बिरामीलाई ति सैया उपलब्ध गराउन पाइने थियो’ गुप्ताले भने, ‘शय्या अभावको अहिलेको समस्या धेरै हदसम्म समाधान हुने थियो ।’

यो अस्पतालमा उपचारकालागि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी आउने गर्छन् । गत आव २०८१÷०८२ मा यस अस्पतालबाट ३६ हजार ९ सय ३२ बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका थिए । जसमा ७ सय ८ जनाको शल्यक्रिया गरिएको थियो ।