एनपीएल ट्रफी रूपन्देही ल्याइयो, शनिबार दिनभर रूपन्देहीमा डुलाइने


भैरहवा– सिद्धार्थ बैंक नेपाल प्रिमियम लिग (एनपीएल) को ट्रफी रुपन्देही ल्याइएको छ । ट्रफी टूर अन्तर्गत शनिवार भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै रुपन्देही ल्याइएको हो । शनिवार बिहान रुपन्देही ल्याइएको एनपीएलको ट्रफीलाई जिल्लाका पुरातात्विक र ऐतिहासिक स्थानमा पुर्याएर प्रदर्शन गर्ने कार्यक्र छ । ट्रफी टुरका लागि बिहान साढे ९ बजे बुद्ध एयरको जहाजमार्फत ट्रफी भैरहवा ल्याइएको थियो । बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रफीको भव्य स्वागत गरिएको छ ।
काठमाडौंबाट बाकसमा ल्याइएको ट्रफी एनपीएल सदस्य टिम लुम्बिनी लायन्सका मालिक ईश्वर जीसी र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले ग्रहण गरेका थिए । विमानस्थलको आन्तरिक टर्मिनलमा ट्रफी ग्रहण गरे लगत्तै बाजागाजासहित स्वागत गरिएको थियो । ट्रफीको स्वागतका लागि लुम्बिनी लायन्सका सदस्य, रुपन्देही क्रिकेट संघका पदाधिकारी, क्रिकेट प्रेमी र सर्वसाधरण विमानस्थल पुगेका थिए । स्वागतका लागि नेपाल प्रहरीको ब्यान्ड पुगेको थियो ।
लुम्बिनी लायन्सका मेन्टर शक्ति गौचनका अनुसार विमानस्थलबाट ट्रफीलाई बुद्ध जन्मस्थल लुम्बिनी लगिएको छ । त्यहाँ ट्रफी सार्वजनिक गरेपछि फर्काएर भैरहवास्थित सिद्धार्थ रंगशालामा स्वागतको कार्यक्रम छ । त्यहाँ स्वागत पश्चात रुपन्देहीको बेलहिया नाका हुँदैं तिलोत्तमा नगरपालिकामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला पुर्याइनेछ । एक्स्ट्राटेक लुम्बिनी लायन्सको घरेलु मैदान हो । त्यसपछि बुटवल उपमहानगरपालिका पुरातात्विक र ऐतिहासिक स्थल पुर्याउने कार्यक्रम रहेको गौचनले बताए ।
अपरान्ह रुपन्देही र पाल्पाको सिमानामा रहेको सिद्धबाबा धाममा ट्रफी पुर्याएर टुरको अन्त्य गरिनेछ । त्यसपछि मणिग्रामस्थित विश्राम वाटिका होटलमा औपचारिक कार्यक्रम र रात्री भोज आयोजना गरिने गौचनले जानकारी दिए । दिनभर सञ्चालन गरिने ट्रफी टुरमा वर्तमान र पूर्व खेलाडी, क्रिकेट प्रेमी, क्रिकेट संघका पदाधिकारी र खेल प्रेमीको सहभागिता रहने आयोजकले जनाए ।








प्रतिकृया दिनुहोस्