लुम्बिनी लायन्सलाई क्रिकेट क्षेत्रका अगुवाको ‘शुभकामना’


भैरहवा– क्रिकेट क्षेत्रका अगुवाहरुले लुम्बिनी लायन्सलाई प्रदेशबासीको अपनत्व थप बढाउने गरी काम गर्न सुझाएका छन् । उनीहरुले लुम्बिनी प्रदेशका हरेक जिल्लाहरुमा पुगेर लुम्बिनीबासीको साझा टिम ‘लुम्बिनी लायन्स’ हो भन्ने भावना जागृत गराउन जरुरी रहेको जनाए ।
आगमी मंसिर १ देखि २७ गतेसम्म काठमाडौंमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) हुँदैछ । लुम्बिनी प्रदेशको टीम लुम्बिनी लायन्ससँग शुक्रबार रुपन्देही क्रिकेट संघले भैरहवामा आयोजना गरेको शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रिकेट क्षेत्रका अगुवाहरुले सबै प्रदेशबासीले अपनत्व लिने गरी अगाडि बढ्न सुझाव दिएका हुन् ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले गत वर्ष सम्पन्न एनपीएलमा जिल्लागत क्रिकेट संघहरुसँग लुम्बिनी लायन्सले खासै समन्वय नगरेको जनाउँदै यसपटक भने समन्वय गरिएको भन्दै धन्यवाद व्यक्त गरे । उनले लुम्बिनी लायन्स हाम्रो टीम हो, हाम्रो प्रदेशको टीम हो र यो प्रदेशका राम्रा खेलाडीहरु छन् भन्ने सन्देश दिन जरुरी रहेको जनाए । थापाले विदेशी राम्रा खेलाडीहरु ल्याएर भए पनि टीमलाई बलियो बनाएर यसपटक एनपीएल उपाधि जित्नु पर्ने जनाए । साथै थापाले लुम्बिनी लायन्सलाई जितको शुभकामना समेत दिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले प्रदेशका खेलाडीहरु सबैले अवसर पाउन भनेर ट्यालेन्ट हन्ट गर्दा जिल्लागतमा रुपमा गर्ने तयारी गरिएको जनाइन् ।
घिमिरेले यसपटक ट्यालेन्ट हन्टबाट खेलाडी छनौट भइसकेको जनाउँदै आगामी दिनमा जिल्लागतरुपमा छनोट गर्ने गरी तयारी गरिएको बताइन् । आफूहरुको चाहना केन्द्रिकृत नभई विकेन्द्रिकृत रहेको उल्लेख गर्दै यसमा लुम्बिनी लायन्स परिवार सचेत रहेको उनको भनाई छ । आफूले लामो समय नेपाल क्रिकेट संघमा काम गरेको अनुभव रहेको सुनाउँदै घिमिरेले सबैको भावना समेट्ने गरी अघि बढ्ने प्रतिबद्धता जनाइन् । उनले लुम्बिनी लायन्स यही प्रदेशकै टीम भएकाले सबैले आआफ्नो ठाउँबाट साथ, सहयोग र शुभकामना दिने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा रुपन्देही क्रिकेट संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका सल्लाहकार देवराज न्यौपाने, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, संघका सदस्य प्रथम पराजुली लगायतले बोल्दै एनपीएलले नेपाली क्रिकेट क्षेत्रलाई थप उचाईमा पुर्याएको जनाए । उनीहरुले लुम्बिनी लायन्सलाई यसपटक उपाधि जितको शुभकामना व्यक्त गर्दै टीमलाई बलियो बनाउन आग्रह गरे । यस्तै, लुम्बिनी लायन्स यही प्रदेशको टीम भएकाले सबैलाई अपनत्व हुने गरी व्यवस्थापन अगाडि बढ्नुपर्ने जनाए । यसका लागि सहयोग र सहकार्य गर्न आफूहरु सधैं तयार रहेको उनीहरुको भनाई छ ।








प्रतिकृया दिनुहोस्