July 27, 2026, Monday
२०८३ श्रावण १२ मंगलवार

दाउन्नेमा सामान्य वर्षा हुँदा पनि घण्टौं जाम

Advertisement

नवलपरासी— पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड अन्तर्गत दाउन्नेमा सामान्य वर्षा हुँदापनि घण्टौं जाम हुन थालेपछि यात्रु मर्कामा परेका छन् ।

Advertisement

निर्माणको काम चलिरहेको दाउन्नेको पूर्व भागमा यस्तो समस्या छ । बुधबार राति सामान्य वर्षा भएपछि सडक जाम भएको छ । राजमार्ग चिप्लो भएपछि बिहीबार बिहान तीन बजेदेखि अवरुद्ध रहेको थियो । उक्त सडकखण्ड मर्मत गरेर बिहीबार बिहानबाट आलोपालो यातायात सञ्चालन भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमनसिंह रानाका अनुसार सामान्य वर्षाका कारण राजमार्ग हिलाम्य भएर अवरुद्ध भएको दाउन्ने सडकखण्डमा ग्राभेल राखेर आलोपालो यातायात सञ्चालन गरिएको छ ।

नारायणघाटबाट बुटवलतर्फ जाने गाडी हिलोमा फसेका कारण राजमार्ग अवरुद्ध भएको थियो । केही बेरअघिदेखि बुटवलबाट रायणघाटतर्फ आउने गाडी आइरहेको र पालैपालो यातायात सञ्चालन हुने व्यवस्था मिलाइएको रानाले जानकारी दिएका छन् ।

’सामान्य झरीका कारण राजमार्ग चिप्लो भएर आउजाउमा समस्या छ,’रानाले भने, ‘कच्ची सडकमा ग्राभेल राखेर राजमार्ग सहज बनाइएको हो ।’ निर्माणाधीन बुटवल–नारायणघाट सडकअन्तर्गत पर्ने दाउन्ने पहाडको १४ किलोमिटरमध्ये ९ किलोमिटर सडक खण्ड खाल्डैखाल्डा छ ।

राजमार्ग निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले दाउन्नेमा सामान्य वर्षा हुनासाथ घण्टौं जाम हुने गरेको छ । पूर्वी नवलपरासीमा बिहान दुई बजेदेखि सामान्य वर्षा भइरहेको छ ।