July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

छठकालागि सजीसजाउ छन् भैरहवाका तलाउ र जलाशय

 

Advertisement

भैरहवा–उदाउदो र अस्ताउदो सूर्यको पूजा गरि मनाइने छठ पूजाका निम्ति भैरहवा र आसपास क्षेत्रमा रहेका तलाउ, जलाशय र नदी किनाराका स्थलहरु सजिएका छन् । तिहार सकिए 

Advertisement

लगत्तै छठ पूजाको तयारी सुरु भएको छ ।

भैरहवाको सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री कालीभक्ति गण (ई) मा रहेको पोखरी, सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरी, सिद्धार्थनगर नगरपालिकास्थित मेउडिहवा, सिद्धार्थनगर नपा–९ स्थित गोनैया, दुमदुमुवा, सिद्धार्थनगर नपा–१२ स्थित डाँडागाँउ, बसन्तपुर लगायत्का स्थानमा रहेका दर्जनौं पोखरी, जलासय र नदी किनाराका स्थलमा सोमवार साँझदेखि हुने छठ पूजाकालागि सजाइएका छन् ।

विगतमा नेपालको विशेष गरी तराई–मधेश क्षेत्रमा मनाइँदै आइएको यो पर्व अहिले मुलुकका विभिन्न स्थानमा र विभिन्न समुदायले मनाउन थालेका छन् । भैरहवामा पनि छठ पूजाको तयारी सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री कालीभक्ति गण (ई) मा रहेको छठ पोखरीमा विगत ६० वर्ष भन्दा बढीदेखि पूजा गरिदै आएको छठ पूजन समिति सिद्धार्थनगरका संयोजक आनन्द प्रसाद गुप्ता बताउँछन् ।

‘छठ पोखरी सरसफाई, रँगरोगन लगायतका काम भइरहेको छ’ संयोजक गुप्ताले भने, ‘भैरहवा र आसपास क्षेत्रमा रहेका सवै जलासय, पोखरी र नदी किनारलाई सजाइएको छ ।’ उनका अनुसार, श्री कालीभक्ति गण (ई) मा रहेको पोखरी धेरै पुरानो पोखरी छठ पूजनस्थल हो । छठ पोखरी व्यवस्थित गर्नका लागि वडा समितिको कार्यालय, नगरपालिका र नेपाली सेनालेपनी सहयोग गरेको छ ।
उक्त पोखरीको छेउमा करिब २ हजार १ सय बेदी राखिने र पूजास्थलमा करिब हजारौं श्रद्धालु भक्तजनको सहभागीता रहने छ ।

छठमा व्रत बस्ने र पूजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । निःसन्तान भएकाले सन्तान प्राप्तीको कामना तथा विभिन्न भाकल गरेर छठ पर्वमा निराजल व्रत बस्ने प्रचलन छ । पूजास्थलमा भक्तजनहरुको सुरक्षाको व्यवस्थापनमा विशेष ध्यान दिइने गुप्ताले जनाए ।

सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरीमा पनि छठ पूजाको तयारी गरी सजाइएको छ । मन्दिर समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले श्रद्धालु भक्तजनहरुको सुरक्षालाई मध्यनजर गर्दै पूजास्थलमा सिसिटीभी क्यामेरा जडान गर्नुका साथै स्वयंसेवक परिचालन गरिने बताएका छन् । मन्दिर परिसरमा ३ वटा पोखरी छन् ।

रौनियारका अनुसार, विश्वमा संकट पर्दा मानव कल्याणका लागि छठ्ठी मैयाको उत्पत्ति भएको भन्ने मान्यता छ । छठ पूजामा सूर्य भगवानको पूजा गरिने र सूर्यको वैज्ञानिक रुपमा पनि धेरै ठूलो महत्व छ ।
गोनहिया, दरखसवा लगायत भैरहवाको विभिन्न पोखरी तथा जलाशयमा छठ पूजा गरिदै आइएको सिद्धार्थनगर–६ निवासी मनोज जयसवाल बताउछन् ।