झिलिमिल बत्तीले सिंगारिए गाउँ–सहर


भैरहवा– तिहार उज्यालो पर्वका रुपमा चिनिन्छ । त्यसैले तिहार नजिकिएसँगै मुलुकभरका सहर सडक, मन्दिर तथा भवनहरु झिलिमिली बत्तीले सिंगारिएको छ । त्यस्तै, मन्दिर तथा चोकहरु र घरहरुमा पनि झिलीमिली बत्ती बलिरहेको देखिन्छ । रुपन्देहीका ठूला सहर बुटवल, भैरहवा, तिलोत्तमा, देवदह, लुम्बिनी, सैनामैना लगायतमा झिलिमिली बत्तीले आकर्षकता सँगै तिहारको झल्को दिइरहेका छन् ।
तिहारलाई उज्यालो पर्वका रुपमा पनि चिनिने भएकाले पर्व मनाउनेहरुले आ–आफ्नो घरमा झिलिमिली बत्ती लगाउने गर्छन् । जसले गर्दा रातिको समयमा सहरका दृश्य आकर्षक देखिन्छन् । तिहारको अवसरमा झिलिमिली बत्ती बाल्ने गरिन्छ । त्यहीकारण लुम्बिनी प्रदेशका सहर तथा गाउँका सडक, चोक, मन्दिर लगायतका स्थानमा झिलिमिली बत्ती बालिएको हो ।
तिहारसँगै लुम्बिनी प्रदेशका ठूला सहरहरु नेपालगंज, गुलरिया, घोराही, तुलसीपुर लगायतका क्षेत्रमा पनि उज्यालो बत्तीको चमक देखिन्छन् । दसैंपछि नेपालीहरुको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई सांगीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो पर्वका रुपमा लिइन्छ ।
तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले घर सिंगारिने चलन पनि उत्तिकै बढ्दो छ । पछिल्लो समय परम्परागत दियो बाल्ने चलन लोप हुँदै गएकाले आधुनिक झिलिमिली बत्तीले निकै ठाउँ पाएको व्यापारीहरु बताउँछन् । तिहारमा विभिन्न किसिमका झिलिमिली बत्तीको व्यापार फस्टाएको छ ।
बजारमा अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलमा पनि सिजनल व्यापारका रूपमा धेरै व्यापारीले झिलिमिली बत्ती बेचिरहेका छन् । तर, विगतका तुलना ब्यापार नभएको भैरहवाका व्यापारी कृष्णकुमार जैसवालले बताए । ‘जेनजी आन्दोलन, धेरै उपभोक्ता भारतीय बजारमा खरिदारीका लागि जाने लागयतले गर्दा पनि पहिलेजस्तो कारोबार छैन’, उनले भने ।
झिलिमिली बत्ती अन्य चाडपर्व र विवाहको सिजनमा थोरैथोरै बिक्री भए पनि तिहारको समयमा बढी बिक्री हुने गर्छ । बजारमा यतिबेला बत्ती, फूलमालालगायत सामान किन्ने र बेच्नेको घुइँचो छ । तिहारका लागि आवश्यक विभिन्न सामग्री खरिद र बिक्री गर्ने सर्वसाधरणको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ । तिहारमा घरका सबै ठाउँ उज्यालो राख्नुपर्ने र घरै पूरै झिलीमिली बनाउने मान्यता रहिआएका कारण घरका सबै होल्डरमा बत्ती जोड्ने गरिएको छ । अहिले बजारमा फरक–फरक खालका झिलिमिली बत्ती फरक–फरक मूल्यमा बिक्रीका लागि उपलब्ध छन् ।








प्रतिकृया दिनुहोस्