रूपन्देहीमा सशस्त्रका बीओपी इन्चार्जहरू ‘कमाउ धन्दामा’


भैरहवा– रुपन्देहीका सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोष्ट (बीओपी)हरु तस्करहरुसँग मिलेमतो गरेर चोरी तस्करीमा संलग्न रहेको पाइएको छ । जिल्लाको करिब ७० किमी क्षेत्र भारतसँग सीमा जोडिएको छ । सीमा क्षेत्रमा सशस्त्रको २७ नम्बर गणदेखि बीओपी र बेससम्म छन् । यस्ता कार्यालयको काम सीमा सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्नु, सीमा अपराध रोक्नु र अवैध कार्यलाई निस्तेज पार्नु हो ।
तर, रुपन्देहीका सीमा क्षेत्रमा रहेका बीओपीहरुले भने मिलेमतोमै तस्करीलाई प्रसय दिइरहेको स्थानीयले गुनासो गर्छन् । जिल्लाको कालीदहदेखि बुचीसम्मका बीओपीहरुले अहिले ब्यापक तस्करी गराउन साथ दिइरहेका छन्, अर्थात् उनीहरु कमाउ धन्दामा लागेका छन् । बीओपी इन्चार्ज (सशस्त्र प्रहरी निरीक्षक) हरुले घुमुवा (सादा पोसाक) का सशस्त्र प्रहरी परिचालन गरी तस्करहरुसँग मिलेमतो गरेर आर्थिक लाभ लिइरहेका छन् ।
सशस्त्र प्रहरीले रुपन्देहीमा भारतसँग सीमा जोडिएका हरेक सहज मार्ग (बाटो)हरुमा ड्युटी गर्ने गरेको छ । तर, ड्युटीमा रहेका सशस्त्रले समेत आर्थिक लाभ लिएर तस्करहरुलाई सघाइरहेका छन् । रोहिणीस्थित बुचीका एक स्थानीय भन्छन्, ‘रातदिन अहिले रोहिणी गाउँपालिकाका सीम क्षेत्रबाट चोरीतस्करी भइरहेको छ । तर, सशस्त्रले पूर्णरुपमा तस्करहरुलाई साथ दिएको छ ।’ स्थानीयका अनुसार दिउँसोमा भन्दा साँझपख, राति र बिहानपख बढी मात्रामा तस्करी हुने गरेको छ ।
कतिपय बीओपीहरुमा त सशस्त्रका इन्चार्जहरु नै आफै घुमुवाको काम गर्छन् । यस्ता इन्चार्जहरुले तस्करहरुसँग भेटघाट र साँठगाँठ गरी तस्करी गराउनमा साथ दिने गरेका छन् । यसबाट उनीहरुले आर्थिक लाभ उठाउँछन् । साइकल, मोटरसाइकल र पिकअप गाडीमा घरासयी सामानसँगै कपडा, हार्डवेयर, कुखुरा, माछा, चिनी, काजुबदाम, पटका, झिलीमिली बत्ती लगायत अहिले ब्यापक तस्करी छ ।
‘सीमानाकामै सशस्त्र प्रहरी तैनाथ छन्, सशस्त्रले चाह्यो भने तस्करी पूरै रोकिन्छ’, रुपन्देहीको कोटहीमाईका एक स्थानीयले भने, ‘तर, इन्चार्जहरु आउने नै आर्थिक लाभ उठानका लागि हो । त्यसैले उनीहरु तस्करहरुसँग मिलेमतो गरिहाल्छन् ।’ यतिसम्मकी सशस्त्रको विशेष आर्थिक क्षेत्र (सेज) सुरक्षामा खटिएको टोलीले समेत घुमुवा परिचालन गरेर पैसा उठाउँदै आएको छ । यहाँका कार्यालय प्रमुखसहितको टिम नै सादापोसाकमा खटिएर पैसा असुल्ने गर्छन् ।
अधिकांश बीओपीहरुले तस्करहरुसँग मासिक रकम बुझेरै तस्करीलाई साथ दिँदै आएका छन् । रुपन्देहीमा जेनजी आन्दोलन अघि तस्करी केही मत्थर थियो । तर, जेनजी आन्दोलनपछि झनै बढेको छ । सुरक्षाकर्मीमा मनोबल कमजोर भएको भ्रम फैलाएर रुपन्देहीमा तस्करी ब्यापक बनाइएको प्रत्यक्षदर्शी र स्थानीयहरु बताउँछन् ।
दसैंका बेला रातदिन तस्करी भएको थियो । अहिले तिहार नजिकिँदै जाँदा तस्करी अझै बढेको छ । विभिन्न पालिकाहरुले स्वदेशी फूल प्रयोग र प्लास्टिकका माला प्रयोग नगर्न आग्रह गरिरहेका छन् । तर, सीमा क्षेत्रबाट धमाधम भारतीय फूलमाला र प्लाष्टिकका माला भित्रिरहेका छन् । सीमा क्षेत्रबाट भित्रिएको तस्करीको सामान रुपन्देहीका विभिन्न बजारसँगै स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, पोखरा, काठमाडौंसम्म पठाउने गरिएको छ ।
सीमा क्षेत्रमा सशस्त्रका बुची, पजरकट्टी, मझगाँवा, मञ्जरिया, बोगटी, बयरघाट, डण्डा लगायतका स्थानमा बीओपी छन् । सिद्धार्थनगर–१ मा त गण नै छ । तर, गण नजिकै रहेको फरेनिया बजारबाट दैनिक उपभोग्य सामानको नाममा करोडौंको सामान विना भन्सार भित्रिँदा सशस्त्रले अनादेख गरिरहेको छ ।
सशस्त्र प्रहरी नम्बर २७ गणको सूचना अधिकृत डीएसपी किरण खत्री, बीओपी बुचीमा प्रमुख सुवोध गुरुङ र पजरकट्टीका दिनेश खड्कालाई सम्पर्क गर्दा उनीहरु तीनैजनाले फोन रिसिभ गरेनन् । रुपन्देहीमा तस्करी बढेपछि त्यसलाई रोक्न भन्दै सशस्त्र लुम्बिनी प्रदेशका डीआईजीले नै घुमुवा राखेका छन् । तर, डीआईजीले राखेका घुमुवा समेत असुलीमा लागेपछि बीओपीहरुलाई थप सहजता भएको सशस्त्रभित्र चर्चा हुने गरेको छ ।








प्रतिकृया दिनुहोस्