‘गौतमबुद्धका नाममा स्थापित बौद्ध विश्वविद्यालय स्थानीय क्षेत्रमा अपरिचित’


भैरहवा– समसामयिक र उपयोगी पाठ्यक्रमको अभावले स्थापनाको लामो समयसम्म पनि लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यार्थीको संख्या बृद्धि हुन नसकेको सरोकारवालाले बताएका छन् । उनीहरुले स्थानीय परिवेशसित मेल खाने र जीवन उपयोगी पाठ्यक्रम तयार गर्न माग गरेका हुन् ।
विश्वविद्यालय अन्तर्गत केन्द्रिय र मातहत क्याम्पसमा विद्यार्थीको संख्या बृद्धिसँगैं चुस्त व्यवस्थापनका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा सहभागीले गौतमबुद्धका नाममा स्थापित विश्वविद्यालय स्थानीय क्षेत्रमा अपरिचित रहेको गुनासो पोखे । सुझाव संकलनका लागि केन्द्रिय क्याम्पसले बिहीबार केन्द्रिय पुस्तकालयको हलमा कार्यक्रम आयोजना गरेको थियो ।
स्थानीय शिक्षक श्रीकृष्ण यादवले लुम्बिनीमा केन्द्रिय क्याम्पस हुनु गर्वको विषय भए पनि यहाँ पढाइ हुने विषयबारे विद्यार्थी र अभिभावक अनभिज्ञ रहेको बताए । लुम्बिनी र आसपासका बासिन्दा कृषिमा निर्भर रहेको आफ्नै गाउँठाउँमा जिविकोपार्जन गर्न चाहने भएकाले केन्द्रिय क्याम्पसमा शिक्षाशास्त्र पढाउनुपर्ने उनले बताए । त्यस्तै अर्का शिक्षक उपेन्द्रराज श्रीवास्तवले केन्द्रिय क्याम्पसमा स्नाकोत्तर तहमा मात्रै विषय विविधता नल्याएर तल्लोतहबाटै स्थानीयको जिविकोपार्जनमा सघाउने पाठ्यक्रम लागू गर्नुपर्ने बताए । दैलोको क्याम्पसमा बुद्ध शिक्षासँगैं जीवनउपयोगी विषय नहुँदा राम्रो विषयमा अध्ययन गर्न भन्दैं विद्यार्थी बाहिरीरहेको उनले बताए ।
स्थानीय विद्यालयका शिक्षक हरिमोहन चौधरीले केन्द्रिय क्याम्पसबाट उत्पादन भएका विद्यार्थी रोजगारी खोज्दैं कहाँ जाने भन्ने अन्योल रहेको जनाए। ‘यहीँका विद्यार्थीलाई लुम्बिनी क्षेत्रमै अवसर मिल्ने गरि पाठ्यक्रम तयार गर्नुपर्यो,’ उनले भने, ‘कृषि, होटल व्यवस्थापन र शिक्षा शास्त्र जस्ता विषय पनि चाहियो ।’ शिक्षक तिलकराम पौडेलले केन्द्रिय क्याम्पस लुम्बिनीमा रहे पनि स्थानीय बासिन्दालाई कुन विषय पढाई हुन्छ भन्ने जानकारी नरहेको बताए । ‘केन्द्रिय क्याम्पस अगाडिबाट हिंडिन्छ,’ उनले भने, ‘तर, भित्र के विषय पढाई हुन्छ जानकारी छैन ।’
शान्ति नमूना माबि मणिग्रामका शिक्षक महेशप्रसाद चापागाईँले विद्यार्थी किन बढ्न सकेनन भन्नेबारे गम्भीर समीक्षा जरुरी रहेको बताए । ‘लुम्बिनीका विद्यार्थी बुटवल र मणिग्राममा बसेर पढिरहेका छन्,’ उनले भने, ‘ति विद्यार्थी लुम्बिनीमै पढ्ने वातावरण बनाउनुपर्छ ।’ अहिलेका विद्यार्थीलाई तुरुन्तै पैशा आर्जन हुने विषय आवश्यक रहेकाले त्यहीँ अनुसार विश्वविद्यालय अगाडि बढ्नुपर्ने बताए ।
स्थानीय मञ्जु पराजुलीले छिमेकमा रहेको विश्वविद्यालयको माया लागेर मात्र नहुने बताइन् । ‘अब जिल्लाबाहिरबाट विद्यार्थी आकर्षित गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसका लागि प्रचारप्रसारका कार्यक्रम ल्याउनु पर्यो । प्रचार नगरेसम्म विद्यार्थी आउँदैनन् ।’ स्थानीय रामबिकास चौधरीले विश्वविद्यालय सुरु गर्दाको काठमाडौंस्थित भृकुटीमण्डपमा रहेको मण्डी जस्तो कार्यालय र अहिले लुम्बिनीमा रहेको केन्द्रिय क्याम्पसमा कुनै अन्तर हुन नसकेको बताए ।
‘विश्वविद्यालय समाजमा आउन सकेको छैन,’ उनले भने, ‘विश्वविद्यालयमा स्थानीयले प्रवेश पाउन सकेका छैनन् । जसले गर्दा अपनत्व पनि छैन ।’ अहिलेसम्म विश्वविद्यालयको राजनीतिकरण भए पनि स्थानीयकरण हुन नसकेको उनले बताए । ‘लुम्बिनीको जग्गा ओगट्ने काममात्र भयो,’ उनले भने, ‘यहाँका विद्यार्थी बुटवल र भैरहवा पढ्न जानु परेको छ ।’
केन्द्रीय क्याम्पसस्थित पुरातत्व अध्ययन विभागका प्रमुख बसन्त विडारीले लामो मिहिनतपछि विश्वविद्यालय अहिलेको अवस्थामा पुगेको बताए । प्रथम विश्व बौद्ध सम्मेलनको भावना अनुसार स्थापना भएको विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन संस्थान बनाउन सबैले हातेमालोे गर्नुपर्ने बताए । क्याम्पस प्रमुख दयानिधि गौतमले केन्द्रिय क्याम्पसलाई धेरैभन्दा धेरै विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सुझाव संकलन कार्यक्रम आयोजना गरिएको बताए ।
सुधारका लागि आफूले पनि एजेन्डा तय गरेको जनाउँदै उनले भने, ‘केन्द्रिय क्याम्पसलाई आकर्षणको केन्द्र बनाउन शिक्षक, विद्यार्थीका साथै स्थानीय समुदायको पनि भूमिका आवश्यक छ ।’ क्याम्पस सुधारसँगै आफ्नो कार्यकालमा ४ करोडको अक्षयकोष खडा गर्ने अभियानमा रहेको उनले बताए । ‘अक्षयको ब्याजले विद्यार्थीलाई खाना खुवाउन पुगोस्,’ उनले भने, ‘उक्त अभियानमा सघाउन सबैसित मेरो अनुरोध छ ।’ कार्यक्रममा विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, अनुसन्धान प्रमुख गितु गिरी, प्राध्यापक, शिक्षक र कर्मचारीको सहभागिता थियो ।








प्रतिकृया दिनुहोस्