July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

मालपोत बुटवलद्वारा प्रमाणसहित स्रेस्ता कायम गराउन जग्गाधनीलाई आग्रह

Advertisement

भैरहवा– मालपोत कार्यालय, बुटवल, रुपन्देहीले जग्गाधनीलाई स्रेस्ता कायम गराउन आउन आग्रह गरेको छ । भदौ २४ को जेनजी आन्दोलनका क्रममा मालपोत बुटवलमा आगजनी र तोडफोड भएको थियो । आगजनीबाट हजारौं जग्गाधनीका स्रेस्ता जलेर नष्ट भएका थिए ।

Advertisement

मालपोतले सूचना जारी गरेर भनेको छ, ‘भदौ २३ र २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलनको क्रममा भदौं २४ गते अज्ञात समूहद्वारा यस कार्यालयमा आगजनी गरी साविक गजेडी, मक्रहरका सम्पूर्ण जग्गाको स्रेस्ता–अभिलेख, आनन्दवन तथा सेमलारको गुठी सम्बन्धी जग्गाको स्रेस्ता–अभिलेख र विभिन्न समयमा सुकुम्वासी आयोगबाट वितरित बुटवल, आनन्दवन, गजेडी, सेमलार, मक्रहर, परोहा, दुधराक्ष, करहिया, केरवानी गाविसको जग्गाका स्रेस्ता–अभिलेख जलेर पूर्ण रुपमा क्षति भएको छ ।’

मालपोतले सो सम्बन्धमा उक्त स्रेस्ता तथा अभिलेखलाई साविक बमोजिम तयार गर्न र नियमित रुपमा कार्यसञ्चालन गर्ने–गराउने सम्बन्धमा मालपोत ऐन, २०३४, मालपोत नियमावली, २०३६, भूमि प्रशासन निर्देशिका, २०८१ तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको भदौ २४ को परिपत्रमा भएको व्यवस्था बमोजिम जग्गाधनीलाई प्रमाणसहित स्रेस्ता कायम गराउ आउन आग्रह गरेको छ ।

मालपोतले स्रेस्ता कायम गराउन आउँदा नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, जग्गा रहेको स्थानीय तहबाट जोतभोग सिफारिस, जग्गाधनीसँग रहेको सक्कल जग्गाधनी प्रमाण पुर्जा तथा लिखत, चालु आर्थिक वर्षको तिरो बुझाएको रसिद, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना, स्थलगत सर्जमिन तथा कार्यालयले आवश्यक देखेका अन्य प्रमाण पेस गर्न भनेको छ ।