सम्मरीमाई गाउँपालिकामा कर्मचारी अभावले सेवा भद्रगोल


भैरहवा– रुपन्देहीको सिमावर्ती सम्मरीमाई गाउँपालिमा कहिल्यै कर्मचारीमा शान्ति कायम हुन सकेको छैन । कहिले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीयबीच बेमेल त कहिले ऐन, नियमले पुर्याउने बाधाले दरबन्दी अनुसार कर्मचारी पूर्ति हुन सकेको छैन । कर्मचारी अभाव भएपछि पालिकाले प्रदान गर्ने सेवा भद्रगोल बनेका छन् । सेवा प्रभावित बनेकोप्रति पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत गम्भीर छैनन् । कर्मचारी अभावका बेला सेवा प्रभावकारी तुल्याउन लागिपर्नुको साटो उनीहरु तर्किरहेका छन् । यससको मार आम नागरिकमाथि परेको छ ।
गाउँपालिकाका अध्यक्ष बिनोदकुमार श्रीबास्तवलाई तीन वर्षअघि संघीय मन्त्रालयले चिठी पठाएर पुरानै दरबन्दी अनुसार कर्मचारी पूर्ति गरिने जनाएको थियो । मन्त्रालयको परिपत्रपछि पालिकाले करार र ज्यालादारीमा कर्मचारी भर्ति नगरेको उनले बताए । लामो समय प्रमुख प्रशासकीय अधिकृत बिहीन बनेपछि जनस्वास्थ्य निरीक्षक मुन्सीप्रसाद माझीले कार्यबाहक प्रशासकीय प्रमुख भएर चलाएका थिए । जिल्लाको गैडहवाका बासिन्दा राजेश मल्लाह अहिले प्रमुख प्रशासकीय अधिकृत छन् ।
‘पालिकामा प्रशासकीय प्रमुख पनि आउन डराउँछन्,’ अध्यक्ष श्रीवास्तवले भने, ‘केहीगरि ज्यालादारी कर्मचारी नियुक्त गरिहालेमा अख्तियारले चिठी पठाइहाल्छ, अख्तियारलाई जवाफ पठाउने झन्झटले गर्दा यस्ता कर्मचारी नियुक्त गरिएको छैन ।’
उनकाअनुसार पालिकामा महिला बिकास शाखा प्रमुख छैनन् । पालिकाका लेखा अधिकृत सरुवा भएर गएपछि नयाँ आएका छैनन् । पालिकाका अन्तर्गत १, २ र ४ नम्बर वडा सचिव बिहीन छन् । जसले गर्दा एउटा सचिवले दुईवटा वडाको जिम्मेवारी सम्हाल्नु परेको छ । दोहोरो जिम्मेवारी पाएकाले आलोपालो सेवा प्रदान गरिरहेको बताए ।
प्राविधिक शाखामा स्थायी दरबन्दीका इन्जिनियर छैनन् । पालिकामा दुई इन्जिनियरको दरबन्दी छ । अहिले करारका एक इन्जिनियरले सबै काम गरिरहेका छन् । ‘जति माग गरे पनि दरबन्दीका इन्जिनियर पठाइएको छैन,’ उनले भने, ‘करारका इन्जिनियरले कति दिन धान्ने हुन् ।’ अहिले तीन जना सब इन्जिनियर छन् । प्रदेश सरकारको नियमावली अनुसार सरुवा भएर आउने–जाने दुबै कर्मचारीको सहमति आवश्यक पर्ने नियमका कारण समस्या भइरहेको उनले बताए ।
महिला, जिन्सी र योजना शाखा रित्तै भए पछि सेवा प्रभावित बनेको गाउँपालिकाले जनाएको छ । कर्मचारी अभाव भएपछि पालिकाका अधिकांश फाँट र शाखामा कर्मचारी देखिँदैनन् । त्यसमाथि दसैं बिदामा गएका कर्मचारी नफर्केपछि झन समस्या भइरहेको छ । ‘योजना शाखामा एउटैमात्र कर्मचारी छन्,’ पालिका अध्यक्ष श्रीबास्तवले भने, ‘यसरी कहिलेसम्म स्थानीय सरकारको अनुभूति दिने ।’








प्रतिकृया दिनुहोस्