July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

कोटहीमाईमा कर्मचारीको मनपरि: मन लाग्दा कार्यालय आउने, नलाग्दा घर धाउने (भिडियो रिपोर्टसहित)

Advertisement

भैरहवा– सरकारी निकायमा कर्मचारीको नियुक्ति के–का लागि गरिन्छ ? यसको सहज उत्तर जनताको सेवाका लागि हो । तर, जनताको सेवा गर्छु भनेर कसम खाएका कर्मचारीले मनपरि गर्न छाडेका छैनन् । सरकारी निकायका यस्ता बेथिति अन्त माग गर्दा गर्दै भदौ २३ र २४ गते मुलुकमा जेन–जी आन्दोलन नै भयो ।

Advertisement

त्यसपछि सुधारका लागि पूर्व प्रधानन्यायाधीस सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । जनताले सुधार पर्खिरहेका बेला रुपन्देहीका पालिकामा भने कर्मचारीको व्यवहारमा सुधार देखिएको छैन । अझैं मनपरि र आफूखुसी चलिरहेको छ । यस्तो बेथितिको उदाहरण बनेको छ, रुपन्देहीको कोटहीमाई गाउँपालिका । उक्त पालिकामा कर्मचारीलाई सेवा प्रभावित नगर्न जति अनुरोध गरे पनि सुनुवाई भएको छैन ।

कोटहीमाई गाउँपालिकालाई अहिले पनि दसैं लागेको छ । यहाँका कर्मचारी अझै दसैं ‘ह्याङ’ मै छन् । झन दसैं मनाउन घर गएका कर्मचारी नफर्केपछि कार्यालय नै सुनसान बनेको छ । कर्मचारीमात्र होइन सेवाग्राही पनि देखिँदैनन् । कर्मचारी कार्यकक्षमा नबसे पनि पङ्खा र एसी खुलै राखेर सरकारी धनको नास गरिरहेका छन् ।

कर्मचारी दसैंमा घर गएर नफर्केपछि पालिकाले प्रदान गर्ने सेवा प्रभावित बनेका छन् । कर्मचारीले बिदा माग्नुपर्ने नियम पनि पालना गरेका छैनन् । केहीले कार्यालय र फाँट प्रमुखलाई टेलिफोनबाट बिदामा बसेको जानकारी गराएका छन् । जानकारीबिनै अनुपस्थित हुने कर्मचारीको हाजिरी गयल गराउँदा कार्यालय प्रमुखमाथि नै खनिने गरेका छन् । कर्मचारी अभाव भएपछि एउटै व्यक्तिले कार्यालय सहयोगी, कम्प्युटर अपरेटर र फाँटको काम गर्नुपरिरहेको छ ।

बिहीबार एक दिनको हाजिरी हेर्दा गाउँपालिकामा बिहीबार लेखा प्रमुख निरन्जन ज्ञवाली, शिक्षा अधिकृत अमृता बुढाथोकी, सबइन्जिनियर शुक्रनारायण यादव, लेखापाल संगीता भट्टराई, सहायक सवइन्जिनियर रवीन्द्रकुमार यादव, सूचना प्रविधि अधिकृत राजन चौरसिया, वास संयोजक अजयसिंह क्षेत्री, शारदा रौनियार कार्यालयमा भेटिएनन् । बिहीबार मध्यान्हसम्म गयल देखिएका कर्मचारीले दिउँसो र अपरान्ह कार्यालयमा आएर हाजिर गरेका थिए ।

पालिकाले दसैं बिदा हुनुपूर्व बैठक राखेर सबैं कर्मचारीलाई बिदा सकिना साथ कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो । तर, निर्देशनको पालना गरिएको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रका अनुसार दसैं अगाडि प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले कार्यालयमा कर्मचारीलाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएका थिए । उक्त निर्देशनपछि सबै कर्मचारीलाई दसैं अगाडि र पछाडि यदि घरै बस्ने भए रितपूर्वक घरबिदा स्वीकृत गराउन भने पनि पालना नभएको मिश्रले बताए ।

स्थानीय कर्मचारी धेरै भएकाले व्यवस्थापनमा समस्या हुने गरेको उनले बताए । यस्तो अवस्थामा घर बिदा स्वीकृत नगराएर बस्ने कर्मचारीको एकपटक गयल कट्टी गरिने, त्यसपछि पनि बेवास्ता गरे स्पष्टिकरण सोधिने र पटक–पटक दोहोरिएमा विभागीय कारबाहीका लागि सिफारिस गरिने उनले बताए । करार र ज्यालादारी कर्मचारी भएमा सम्झौंता रद्ध गरिने उनले चेतावनी दिए । कर्मचारी रिक्त हुँदा सेवाग्राहीलाई मर्का पर्ने र कार्यालयका लागि गर्नुपर्ने नियमित काम प्रभावित हुने गरेको उनको भनाई छ ।