July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

ज्ञानिन राई बने लुम्बिनी विकास कोषको कायममुकायम सदस्य सचिव

Advertisement

भैरहवा– लुम्बिनी विकास कोषका बरिष्ठ अधिकृत ज्ञानिन राईलाई कायममुकायम सदस्य सचिव तोकिएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यको पाँचवर्षे कार्यकाल असोज २१ म सकिएसँगै उक्त पद रिक्त थियो । यसपछि कोषका वरिष्ठ अधिकृत एवं १० औं तहका वरिष्ठ निर्देशक राईलाई कायममुकायम सदस्य सचिव तोकिएको हो ।

Advertisement

कोष पदाधिकारी विनियमावली, ०५८ को विनियम २९(५) मा सदस्य–सचिव बिदामा बसेको वा अन्य कुनै कारणबाट अनुपस्थित रहेका बेला रिक्त रहेको अवस्थामा वरिष्ठतम् अधिकृतलाई कायममुकायम दिई कार्य संचालन गर्ने व्यवस्था छ । सोही अनुसार राई कामु सदस्य सचिव भएको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।

०७६ मंसिर १५ मा कोष बोर्ड बैठकले वरिष्ठतम कर्मचारीलाई सदस्य–सचिवको अनुपस्थितिमा कामु सदस्य–सचिव बनाउने प्रावधान संशोधन गर्न पठाएकामा संस्कृति मन्त्रालयको ०७६ पुस २७ को मन्त्रीस्तरीय निर्णयले उक्त संशोधन गरेको थियो । यही संशोधनका आधारमा ०७६ माघमा राई ८ महिना कामु सदस्य सचिव भएर काम गरिसकेका छन् । राईले बुधबारबाटै कोषमा कामु सदस्य सचिवका रूपमा काम सुरु गरिसकेका छन् । राईले आफ्नै कार्यकक्षमा बसेर सदस्य सचिवको काम सुरु गरिसकेको बताए ।