मुख्यमन्त्रीद्वारा आगजनी र तोडफोड भएका बाँकेका कार्यालयहरूको अनुगमन


बाँके– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरुको अनुगमनलाई निरन्तरता दिएका छन् । मंगलबार उनले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गरेका हुन् ।
यसअघि अर्घाखाँची, प्यूठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरुको पनि अनुगमन गरेका थिए । अनुगमनका क्रममा बाँकेका सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले अत्यावश्यक सेवा नरोकिने बताए ।
‘कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेका छौं । जेनजी आन्दोलनको नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको छ । जनतालाई दैनिक आवश्यक पर्ने कागजात र लगतहरू जलाउने काम भएको छ । यसरी सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने कार्य अत्यन्त खेदजनक छ’, उनले भने, ‘यसले भोलि लाभग्राही जनतालाई नै समस्या सिर्जना गर्ने देखिन्छ ।’
जेनजी आन्दोलनको नाममा प्रदेशभर दुई सय बढी कार्यालयमा क्षति पुगेको छ । प्रदेशमा करिब दुई खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भए पनि सेवा प्रवाह गर्नेगरी व्यवस्था मिलाइएको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्