आयो दशैंः बुटवल र गुल्मीमा नागरिक सहायता कक्ष स्थापना


भैरहवा– गुल्मीका विभिन्न स्थान र बुटवलको बसपार्कमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर नागरिक सहायता कक्ष स्थापना गरिएको छ । बुटवलमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय, बुटवलले बसपार्कमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सहायता कक्ष स्थापना गरेका हुन् ।
सहायता कक्षको उद्घाटन गर्दै ट्राफिक प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले सवारी चालकहरुलाई ट्राफिक नियम भित्र रहेर सेवाको भावले सेवा प्रदान गर्न आग्रह गरे । ‘चाडपर्वमा सिट क्षमता भन्दा बढि यात्रु राख्नुका साथै ओभरलोड गराएर सवारी चलाउँदा दुर्घटनाको जोखिम हुन्छ’, उनले भने, ‘त्यसो नगर्न चालकहरु र व्यवसायीहरुलाई मेरो आग्रह छ ।’ त्यस्तै उनले चाडपर्वको समयमा व्यवहारिक पक्षलाई समेत आफूहरुले ख्याल गर्दै यात्रामा व्यवसायी तथा चालकहरुलाई सहजिकरण गर्ने बताए ।
उनले मादकपद्धार्थ सेवन नगरी सुरक्षित रुपमा यात्रुलाई गन्तव्यमा पुराउनुपर्ने दायित्व चालकको रहेको जनाए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी इन्द्र रानाले चाडपर्वको समयमा हुने सक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको जानकारी दिए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले ट्राफिक प्रहरीले सानो गल्तीमा पनि चिट आतंक गर्ने गरेको बताउँदै व्यवहारिक पक्ष समेत हेर्नुपर्नेका जोड दिए । गत बर्षको चाडपर्वमा ट्राफिक प्रहरीले चालकहरुलाई गरेको व्यवहार सह्रानीय रहेको स्मरण गर्दै चालकहरुले समेत सेवा भाव राखेर काम गर्न आग्रह गरे । । प्रहरी र व्यवसायीहरुले चालकहरुलाई सिट क्षमता भन्दा बढि यात्रु नराख्न र ट्राफिक नियमको पालना गरेर सवारी चलाउन आग्रह गरेका छन् ।
यस्तै, गुल्मीमा यात्रुहरूलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् । तम्घासको बुढाथोकी बसपार्क र उदिनढुंगा बसपार्क, वामी, रिडी बसपार्क, शृङ्गा सहित विभिन्न १ दर्जन बढी स्थानमा नागरिक सहायता कक्षको स्थापना गरिएको गुल्मीका प्रहरी प्रमुख शंकर नारायणप्रसाद अधिकारीले बताए ।
सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले गुल्मीबाट बुटवल छुट्ने बस चालकलाई फूल माला लगाइदिएर सुरक्षित यात्राको कामना गरे । दशैं तिहारको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिकको सहजताको लागि सहायता कक्ष स्थापना गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
यो अवधिमा जाँच, ओभरलोड र मापसे जाँचलाई कडाइका साथ लैजाने उनले जनाए । यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मूल्य तिर्नु पर्ने समेतका घटनालाई मध्यनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षवाट सबै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैल्याउने काम प्रहरीले गर्ने प्रमुख जिल्ला अधिकारी कोइरालाले जनाए ।
सहज र सरल तरिकाबाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्बन्धित यातायात व्यवसायी संघसंस्थासँग समन्वय गर्ने काम प्रहरीले गर्ने कोइरालाले बताए । चाडपर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण गर्न र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षबाट काम हुने प्रमुख जिल्ला अधिकारी कोइरालाको भनाइ छ । तम्घासको बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौबिसै घण्टा प्रहरीहरूले सेवा प्रदान गर्नेछ । यात्रुहरूलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा जनचेतनामूलक सन्देश प्रवाह प्रहरीले गर्नेछ । नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरू पनि राख्न सक्नेछन् ।








प्रतिकृया दिनुहोस्