June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

जलाइएका कार्यालयबाट सेवा सञ्चालन गर्न स्थानीयको हातेमालो

Advertisement

भैरहवा– मुलुकको सम्पत्ति क्षति भएकोे हेरेर टोलाउनेमात्र छैनन् । त्यहीँ तोडफोड र जलेर क्षति पुगेका कार्यालय पुनःस्थापनाका लागि हातेमालो गर्नेको संख्या पनि समाजमा कम छैन । पछिल्लो दुई सातायता रुपन्देहीमा यस्ता व्यक्ति र समूह देखिन थालेका छन् । जसले कार्यालयका लागि आवश्यक सरसमान जुटाउनुका साथै रंगरोगन गरेर सेवा दिन योग्य बनाएका छन् ।

Advertisement

गत भदौ २३ र २४ गते भएको जेन–जी समूहको प्रदर्शनका क्रममा जलाइएका सरकारी कार्यालयबाट सेवा सञ्चालन गर्न स्थानीय बासिन्दा नै जागरुक बनेका छन् । जिल्लास्थित नागरिक समाज, संघसंस्था र व्यक्तिले सहयोग गरेपछि ती कार्यालयले सेवा दिन थालेका छन् । यस्तो कार्यको जिल्लास्थित सरोकारवालो प्रशंसा गरिरहेका छन् । तोडफोड र आगजनीबाट सेवा प्रवाह ठप्प भएका कार्यालयलाई पुरानै अवस्थामा फर्काउन उनीहरुले सहकार्य गरेका हुन् ।

आन्दोलनका क्रममा जिल्लाको तिलोत्तमा नगरपालीका–९, स्थित इलाका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । जसका कारण कार्यालयका अति आवश्यक सामान र एउटा गाडी समेत जलाइएको थियो । सबै सामाग्री, सवारी साधन जलेर नष्ट भएपछि त्यहाँ कार्यरत प्रहरी सडकमा पुगेका थिए । प्रहरीले नागरिकलाई सेवा प्रदान गर्न सक्नेगरि केही कार्यालय रंगरोगन र सामाग्री जुटाउन स्थानीय तिलोत्तमा गाईज नामक संस्थाले सहयोगी हात अघि बढाएको थियो । उक्त संस्थाले गत भदौ २५ गतेदेखि कार्यालयमा आवश्यक फर्निचर, बिजुलीको वायरिङका लागि आवश्यक सामाग्री लगायत उक्त कार्यालयको रंगरोगन गरि सेवा प्रदान गर्न योग्य बनाइदिएको थियो ।

संस्थाका अध्यक्ष पुजन केसीले आन्दोलनको क्रममा भएको घटनाले सेवा प्रदान गर्ने निकायमा क्षती भएपछि आफूहरु अग्रसर बनेर सहयोग गर्नुपर्छ भनी स्थानीय अग्रजसँग सहयोग संकलन गरि प्रहरी कार्यालयलाई सहयोग गरिरहेको बताए । इलाका प्रहरी कार्यालयसँगै मंगलापुर स्थित ट्राफिक प्रहरी कार्यायमा समेत क्षती भएकाले त्यहाँ पनि सहयोगको काम गरिरहेको उनले बताए ।

‘हामी आन्दोलनमा सहभागि भएका थिएनौं, संस्था स्थापना देखि नै सामाजिक काम गरिरहेकाले यो पुण्यको काममा अघि बढेर लाग्यौं,’ उनले भने, ‘हामीलाई जहाँबाट जे सामाग्री वा रकम सहयोग आएको हुन्छ, त्यसबाट कार्यालयमा आवश्यक सामान खरिद गरि प्रदान गरिरहेका छौं ।’ आफूहरुको काममा जिल्लाका अग्रजले साथ दिइरहेको, सहयोग गरिरहेको उनले बताए ।

उक्त कार्यालयमा जनउत्थान बचत तथा क्रृण सहकारी संस्थाले पनि सहयोग गरेको थियो । उक्त संस्थाले कम्प्युटर, लोबेड, दराज जस्ता सामाग्री उपलब्ध गराएको हो । सो कार्यालयमा फर्निचर, कार्यालयको गाडी, प्रहरी कर्मचारीको २ वटा मोटरसाइकल, नियन्त्रणमा रहेका मोटरसाइकल, अन्य सामाग्री सबै जलेर नष्ट भएको ईन्चार्ज सुदिप जिसीले जानकारी दिए । उनले सहयोगी संस्थाले साथ दिएर नागरिकको सेवामा हाजिर हुन सकिएको बताए ।

आन्दोलनकारीले ईलाका प्रशासन कार्यालय बुटवलमा तोडफोड र आगजनी गरेका थिए । उक्त कार्यालयको सेवा पूर्णरुपमा बन्द भएको थियो । अहिले कार्यालयका कर्मचारीले सरसफाई गरि कार्यालयलाई काम गर्न योग्य बनाउनेतर्फ अघि बढेको बताएका छन् ।

कार्यालयका प्रमुख रामचन्द्र अर्यालले आफूहरु बिहानैदेखि कार्यालयमा आउने जसले जे काम गर्न सक्छ गर्ने गरेको बताए । उनले केन्द्रबाट भर्खरै बजेट आउने विषय सम्भव नभएकाले यहाँका संघसंस्थासँग आग्रह गरि सेवाग्राहीलाई सेवा दिन पाए हुन्थ्यो भन्नेमा आफूहरु रहेको बताए । भुपुसैनिक कल्याणकारी मंचले कार्यालयमा सिसा लगाइदिने, रुपन्देही उद्योग संघले कम्प्युटर, प्रिन्टर प्रदान गर्ने भएका छन् ।

रंगरोगनका लागि सम्बन्धित संस्थासँग आग्रह गरेको अर्यालले बताए । न्युनतम सेवा रोक्नु हुँदैन भनी आइतबारदेखि नागरिकताको प्रतिलिपी र नयाँ नागरिकता प्रदान गर्ने काम सुचारु भएको उनले बताए । साथै राष्ट्रिय परिचयपत्र र राहदानी अति आवश्यक परेका नागरिकलाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरि सो कार्यालयमा आफ्ना ३ कर्मचरी खटाई सेवा दिइरहेको उनले जानकारी दिए ।

‘ध्वस्त भएका कार्यालय सञ्चालनका लागि नागरिक समाजको हातेमाले उल्लेखनीय छ,’ प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले भने, ‘यस्तो सहकार्यले सबै सरकारी छिटो बहाल गर्न सहज हुनेछ ।’ यस्तै भैरहवा भन्सारमा नेपाल भन्सार एजेन्ट संघले सहयोग गरेको छ । जिल्ला ट्राफिकमा यहाँका उद्योगी व्यवसायी र स्थानीयले सहयोग गरेका छन् । स्थानीयले त सरसफाई समेत गरेका थिए ।