June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा गर्दैनः मुख्यमन्त्री आचार्य

Advertisement

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लामा आगजनीबाट प्रभावित कार्यालयहरुको अनुगमन गरेका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा आगजनीबाट प्रभावित कार्यालयहरुको मुख्यमन्त्री आचार्यले अनुगमन गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका, उच्च अदालतदेखि आगजनीमा परेका सबै सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालयमा पुगेर अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले टेन्ट टाँगेर भए पनि सेवा प्रवाहलाई अगाडि बढाइने बतनए । उनले कर्मचारी र सेवाग्राहीको मनोबल उच्च बनाउन अनुगमन सुरु गरेको जानकारी दिए ।

Advertisement

‘जेन्जीको नाममा घुसपैठ गरेर राज्यलाई नै समाप्त गर्नेगरी आगजनी गरियो । यो घटनाले ठूलो नोक्सानी भएको छ’, सञ्चारकर्मीहरुसँगको कुराकानीमा मुख्यमन्त्री आचार्यले भने, ‘प्रत्यक्ष नागरिकको दैनिक कामसँग जोडिएका कार्यालयहरु खरानी भएका छन् । जसबाट सेवा प्रवाह गर्न कठिनाई हुने निश्चित छ । मालपोत कार्यालय, नापी कार्यालय जलेका छन् । ती कार्यालय जल्दा धेरै महत्वपूर्ण कागजपत्र पनि खरानी बने । अब पुनः कागजपत्र बनाउन निकै दुःख हुने देखिन्छ ।’

राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा नहुने बताए । ‘टेन्ट टाँगेरै भए पनि सेवा अगाडि बढाउनुपर्छ भनेर हामीले भनिरहेका छौं । सबै कार्यालयहरुमा पुगेर कर्मचारीहरुको मनोबल उठाउने र सेवाग्राहीलाई कसरी सेवा पुर्याउन सकिन्छ भन्ने छलफललाई पनि केन्द्रित गरेर अघि बढिरहेका छौं’, उनले भनाइ थियो ।

जेनजीको नाममा घुसपैठ गरेर सरकारी सम्पत्तिको विनाश मच्चाउने काम भएको भन्दै मुख्यमन्त्री आचार्यले निन्दा पनि गरे । अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरोकारवाला पक्ष लगायतको उपस्थिती थियो । मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिका, उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय, पार्टी कार्यालय, कोमल रिसोर्ट, मालपोत कार्यालय, लोकसेवा आयोग, आन्तरिक राजश्व कार्यालय, भू–तथा जलाधार लगायतका कार्यालयको अनुगमन गरेका थिए ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । आन्दोलनका क्रममा ६७ निजी सम्पत्तिमा तोडफोड, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ वटा प्रहरी इकाइमा आगजनी तथा तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आन्दोलनका क्रममा लुम्बिनी प्रदेश अन्तर्गत सबैभन्दा बढी क्षति दाङ जिल्लामा भएको छ । जसमा ७० वटा संरचनामा तोडफोड र आगजनी गरिएको विवरण प्रहरीले यसअघि नै सार्वजनिक गरेको थियो ।