June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

कतै पार्किङबाट, कतै टेन्ट टाँगेर सेवा सुरु, क्षतिको विवरण पनि संकलन गरिँदै

Advertisement

भैरहवा– जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीले क्षति पुगेका रुपन्देहीका धेरै कार्यालयहरुले टेन्ट टाँटेर, पार्किङ र बैकल्पिक उपायहरु अपनाएर कार्यालय संचालन र सेवा दिन सुरु गरेका छन् । खासगरी सेवाग्राहीको बढी भीड हुने कार्यालयहरुले सेवा सुरु गरेका हुन् । आन्दोलनको क्रममा तोडफोड र क्षति पुगेको भैरहवा भन्सार कार्यालयले अत्यावश्यक वस्तुको सेवा दिन बिहीबारबाटै सुरु गरेको थियो । तर, आइतबारदेखि अधिकांश सेवा सुरु गरेको छ ।

Advertisement

भन्सार कार्यालय अगाडिको पार्किङमा त्रिपाल टाँगेर सेवा सुरु गरेको भन्सार प्रमुख शिवलाल न्यौपानेले बताउनुभयो । ‘कार्यालय भवन, कप्युटर, महत्वपूर्ण फाइल र फर्निचरसहित अन्य भौतिक संरचनामा क्षति भएकाले पाल टाँगेर सेवा दिइरहेका छौं’, उनले भने, ‘सँगै मर्तको काम पनि सुरु भएको छ ।’ उनले हाललाई नेपाल भित्रिने यात्रुवाहक सवारीलाई भन्सार सुविधा दिन नसकेको भए पनि अन्य सेवा सुरु गरेको जनाए ।

नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थीले क्षति पुगेपछिको भन्सार सेवालाई सहजीकरण गर्न आफूहरुले पनि सहयोग गरिरहेको बताए । ‘भन्सारमा ठूलो क्षति भयो तर हामी सबैको सहयोग र सहकार्यले पुनः सेवा सुरु गरेका छौं’, उनले भने । कतिपय कार्यालयहरुमा स्थानीय (लोकल) सर्भर नष्ट भएकाले काम ठप्प छ ।

जिल्ला अदालतले पनि आइतबारबाटै आंशिक सेवा सुरु गरेको छ । यस्तै, क्षति पुगेको जिल्ला सरकारी वकिल कार्यालयले पनि सेवा सुरु गरेको छ । सिद्धार्थनगर नगरपालिका लगायत जिल्लाभरका अन्य क्षति पुगेका कार्यालयहरुले पनि सेवाप्रवाह सुरु गरेका छन् । आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख प्रेमराज पोखरेलले आगजनीबाट बचेका र कर्मचारीहरुका ल्यापटपबाट सेवा सुरु गरेको बताए । ‘पूर्णरुपमा सेवा सुरु गर्न केही दिन लाग्छ’, उनले भने, ‘अहिले पार्किङमा सामान्य टी–टेबल र कुर्सी राखेर काम गरिरहेका छौं ।’

आगजनीबाट आन्तरिक राजस्व कार्यालयमा ठूलो क्षति पुगेको छ । जेनजी प्रदर्शनका नाममा भएको आन्दोलनमा जिल्लाका धेरै महत्वपूर्ण सरकारी कार्यालय र निजी सम्पत्तिहरुमा आगजनी भएको थियो । यसबाट धेरै संरचनाहरु जलेर ध्वस्त भएका छन् । उच्च अदालत, बुटवल उपमहानगरपालिका, राजस्व अनुसन्धान, आन्तरिक राजस्व बुटवल लगायत दर्जनौं कार्यालय र महत्वपूर्ण फाइलहरु जलेका छन् ।

लुम्बिनी प्रदेशका जिल्लाहरुमा जेनजी प्रदर्शनका नाममा भएको आगजनी र तोडफोडको क्षतिबारे विवरण संकलन सुरु भएको छ । सबैजसो जिल्लामा सरकारी र निजी सम्पत्तिमाथि प्रदर्शनकारीहरुले क्षति पुर्याएका छन् । धेरै सरकारी कार्यालयहरुमा आगजनी भएको छ । प्रदेशका १२ वटै जिल्लामा क्षतिको विवरण संकलन भइरहेको प्रदेशस्थित आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । जिल्लाहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुले मुचुल्का उठाई विवरण संकलन गरिरहेका छन् । यस्तै, निजी सम्पत्तिहरुको क्षतिबारे पनि निजी क्षेत्रसँग समन्वय गरेर विवरण संकलन भइरहेको प्रशासन कार्यालयहरुले जनाएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डाटोकराज पाण्डेले प्रदर्शनका क्रममा जिल्लास्थित निजी र सरकारी सम्पतिमा ठूलो नोक्सान पुगेको बताए । निजी प्रतिष्ठानको क्षतिको विवरण तत्काल प्राप्त गर्न नसके पनि सरकारी र सार्वजनिक क्षेत्रमा भएको क्षतिको मुचुल्का संलकन भइरहेको जनाए । ‘जिल्लामा क्षति नपुगेका कार्यालयबाट निर्वाध सेवा सञ्चालन भइरहेको छ’, उनले भने, ‘आइतबार मात्रै जिल्ला प्रशासनले कार्यालय प्रमुखहरुको बैठक राखेर क्षतिको विवरण उपलब्ध गराउन र बैकल्पिक माध्यमबाट भए पनि सेवा सुरु गर्न भनेको छ ।’

उनका अनुसार सोमबारसम्म सरकारी सम्पतिमा पुगेको क्षतिको विवरण तयार हुने प्रमुख छ । आजगनीबाट सरकारी र निजी भवन तथा प्रतिष्ठानहरुका कप्युटर, दस्तावेज, फर्निचर लगायत महत्वपूर्ण सामाग्री जलेका छन् । विभिन्न कार्यालयका प्रमुखहरुका अनुसार प्रदेशमा आगजनी र तोडफोडबाट खर्बौंको क्षति भएको छ । अहिले धमाधम क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।