June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

बेलहिया नाका हुँदै भाग्न खोज्ने कैदी भारतदेखि तान्जानियासम्मका

Advertisement

भैरहवा– मुलुकका विभिन्न कारागारबाट फरार भएर रुपन्देहीको बेलहिया नाका हुँदै भारत पस्न खोज्ने अधिकांश बिदेशी नागरिक रहेको पाइएको छ । यसरी भाग्न खोज्नेमा ज्यान मुद्दादेखि लागू औषधका धेरै रहेका छन् । मुख्य नाका हुँदै भाग्न खोज्ने ८ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

इलाका प्रहरी बेलहियाको टोलीले आइतबार केन्द्रिय कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका बागलुङको पाण्डवखानी–९, का नवीनबहादुर पुनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीका अनुसार कारागारमा तोडफोड र आगजनीपछि भागेका कैदीबन्दी पक्राउ परिरहेका छन् । जिल्ला प्रहरीका सूचना अधिकारी डीएपपी सुरज कार्कीका अनुसार चितवन, पश्चिम नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीलाई पक्राउ गरिएको हो ।

कार्कीका अनुसार भदौं २५ गते चितवन कारागारबाट भागेका भारत हरियाणाका सवारी अंगभंग मुद्दाका कैदी २४ वर्षीय अब्बास खान, भारतको उत्तर प्रदेशका लागूऔषध मुद्दाका कैदी ४८ वर्षीय अनिल गिरी, भारतको उत्तर प्रदेशका लागूऔषध मुद्दाका कैदी ४१ वर्षीय राजपाल सिंह र भारतको उत्तर प्रदेशका सवारी ज्यान मुद्दाका कैदी ३८ वर्षीय मोनु कश्यप पक्राउ परेका थिए । ती चारै जनालाई बेलहियास्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको थियो ।

पश्चिम नवलपरासी कारागारबाट भागेका रुपन्देहीको सैनामैना नगरपालिकाकी बहुविवाह मुद्दाकी कैदी ५२ वर्षीया करिश्मा राना, केन्द्रीय कारागार काठमाडौंबाट भागेका तान्जानियाका कोकिन मुद्दाका कैदी ५३ वर्षीय रामधनी सिम्बा मुम्बई र तान्जानियाकै कोकिन मुद्दाका कैदी ४७ वर्षीय त्वालिब किपेभु पाशुआ रहेको कार्कीले जानकारी दिए । पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको कार्कीले जनाए ।