June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनी प्रदेशमा भागेका कैदीबन्दीमध्ये २९० जना नियन्त्रणमा

Advertisement

भैरहवा- जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका ६ वटा कारागारबाट फरार भएका बन्दीकैदीहरु धमाधम सुरक्षा निकायको नियन्त्रणमा आउन थालेका छन् । कतिपय भने आफै पनि सम्पर्कमा आउन थालेका छन् । सुरक्षा निकाय तथा कारागारको सम्पर्कमा आउने क्रम जारी छ ।

Advertisement

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको सूचना तथा संचार शाखाका अनुसार अहिलेसम्म कारागारबाट भागेका कैदीबन्दीमध्ये २ सय ९० जना नियन्त्रणमा आइसकेका छन् ।

बाँकेको नेपालगञ्ज कारागार, नौबस्ता र हिलमनियास्थित बालसुधार गृह, दाङको तुलसीपुर कारागार, नवलपरासी कारागार र कपिलबस्तु कारागार गरि ६ वटा कारगारबाट १ हजार २ सय ७८ जना फरार भएका थिए ।

बाँकेको एउटा बालसुधार गृहमा भाग्ने क्रममा सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तका क्रममा ५ जना बन्दीको मृत्यु भएको थियो ।

‘भागेका कैदीबन्दीहरुमध्ये कतिपयलाई प्रहरीको चेकिङ, सूचनाको आधारमा लुकेर बसेको अवस्थामा आफन्तको घरबाट नियन्त्रणमा लिइएको छ’, उक्त शाखाका एक प्रहरी अधिकारीले भने, ‘भागेर फरार भएका एक जिल्लाका कैदीहरु अर्को जिल्लाबाट नियन्त्रणमा पर्ने गरेका छन् ।’

लुम्बिनी प्रदेशबाट महिला कैदी तथा बन्दी भने फरार नभएको र भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिन प्रहरीले विभिन्न रणनीति अपनाउन थालेको ती अधिकृतले बताए ।

उक्त शाखाका अनुसार, शनिवार मध्यान्हसम्म नवलपरासी कारागारबाट फरार भएकामध्ये ५६ जना, दाङ तुलसीपुरका ८० जना, बाँकेको नौबस्तास्थित बाल सुुधार गृहका ४ जना, हिरमनियास्थित बाल सुधार गृहका १५ जना र कपिलबस्तु कारागारका १ सय ३५ जना नियन्त्रणमा आएका हुन् ।

नेपालगञ्ज कारागारबाट फरार भएका १ सय ४९ जना मध्ये हालसम्म कोही पनि नियन्त्रणमा परेका छैनन् ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ ।

जेनजी प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भन्दै आयोगले बालसुधारगृहमा रहेका व्यक्तिहरु समेत सुधारगृहबाट भागेका भनी जानकारी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कारागारबाट भागेका कैदीबन्दीहरुका कारण समाजमा विशेषगरी महिला, बालबालिका, निर्णयकर्ता एवम् अपराध पीडित र तिनको परिवारमा मनोवैज्ञानिक असर परेको पाइएको आयोगले जनाएको छ । आयोगले सुरक्षा निकायले कैदीबन्दीहरुको खोजी कार्यलाई तीव्रता दिन र भागेका कैदीबन्दीहरुलाई समेत कानुनी शासनको सम्मान गर्दै कारागार फर्किन आग्रह गरेको हो ।