June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

तोडफोड र आगजनी भएको ट्राफिक कार्यालय सरसफाइ र व्यवस्थापनमा स्थानीय

Advertisement

भैरहवा– जेनजी आन्दोलनको नाममा गरिएको तोडफोड र आगजनीबाट अस्तव्यस्त हुन पुगेको भैरहवास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको सरसफाइ र व्यवस्थापनमा स्थानीय समुदाय जुटेका छन् ।

Advertisement

सिद्धार्थनगर–९, गोलिगढमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गत मंगलवार साँझ जेनजी आन्दोलनको नाममा घुसपैठ र लुटेराको समूह प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । यसबाट ट्राफिक प्रहरी कार्यालय भवनका भौतिक संरचना ध्वस्त हुनुको साथै भवन परिसर क्षेत्र अस्तव्यस्त भएको थियो ।

ट्राफिक भनको झ्यालढोकाको शिसा फुटाइएकाले जताततै शिसाका टुक्रा छरपष्ट थिए । कार्यालयको कागजपत्र र प्रहरी सुत्ने व्यारेकमा रहेका बिस्तरामा आगजनी गरिएकाले जताततै खरानीको थुप्रो, भवनभरि कालो ध्वासोको धब्बा, जताततै फ्याँकिएका र तोडफोड गरिएका छरपष्ट सामान थिए । कार्यालय अगाडि सडकमा जलाइएका मोटरसाइकलको खरानीको थुप्रो थिए ।

गोलीगढ टोल सुधार सिमितिको अगुवाइमा शनिवार बिहान प्रथम चरणको सरसफाइ तथा व्यवस्थापन कार्य भएको हो । सरसफाइ कार्यमा बालबालिका, युवा, प्रौढ र बृद्धसम्मका सवै उमेर समूहका स्थानीय स्वःस्फूर्त रुपमा सहभागी भएक हुन् ।

टोल सुधार समितिका कार्यबाहक अध्यक्ष अनवर खानले स्थानीयको पहल र सहयोगमा निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन तोडफोड र आगजनी गरिनुले आफूहरु चिन्तित भएको बताए ।

‘आफ्नो टोल छिमेकमा भएको सार्वजनिक सम्पत्तिको नोक्शानी र क्षतीले सबै स्थानीलाई दुखित त बनाएको छ’, खानले भने, ‘तोडफोड र आगजनीबाट उत्पन्न असहज परिस्थितिलाई सुधार गर्दै सहज बनाउनु पर्छ भन्ने दायित्व अनुरुप सरसफाइ र व्यवस्थापन कार्यमा सवै जुटेका हौं ।’

ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेपछि उत्पन्न असहज परिस्थितिले त्यहाँ बस्ने खाने बाताबरण नभएकाले ट्राफिक प्रहरी अन्यत्र बस्न बाध्य थिए । ट्राफिक प्रहरी कार्यालयमा गरिएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न समूहमध्येमा कैयन् व्यक्तिहरुको पहिचान भएको स्थानीयहरुले बताएका छन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार, विभिन्न कारवाहीमा परेर ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका केही मोटरसाइकल जलाइएको छ भने केही लुटेर लगिएको छ । आगजनी र लुटिएको मोटरसाइकल १८ वटा छन् । लुटेराको समूहले छानी छानी लुटेका थिए ।

तोडफोड, आगजनी र लुटपाटबाट क्षती कति भयो ? भन्ने एकीन अझै हुन सकेको छैन । लुटेर लगिएका अन्य केही मोटरसाइकल ट्राफिक प्रहरीले केही व्यक्तिको घरबाट र केही सडकबाट पुनः नियन्त्रणमा लिएको छ ।

लुटेराहरुले कार्यालयको कम्प्युटर, ल्यापटप, पंखा पनि लुटेर लगेका छन् । सवारी साधनको गती (स्पिड) पत्ता लगाउने राडार गन जलाइदिएका छन् । उक्त राडरगन करिव १६ लाख रुपैयाँ मूल्यको थियो ।

जेनजी आन्दोलनको आवरणमा ट्राफिक प्रहरी कार्यालयमा आक्रमण र आगजनी गर्न उक्साउने घुषपैठीया र लुटेराहरुको समूह तथा केही व्यक्तिको पहिचान भएको प्रहरीले जनाएका छन् । ति व्यक्तिले अगाडिको चेकपोष्ट क्षेत्रबाट तोडफोड र आगजनी गर्ने केही समूहलाई उक्साउँदै ट्राफिक प्रहरी कार्यालयतर्फ पठाउने काम गरेको दावी ति प्रहरीको छ ।

स्थानीय बासिन्दाले ट्राफिक प्रहरी कार्यालयमा क्षती भएका भौतिक उपकरणको व्यवस्थापन कसरी गर्ने ? भन्ने वारेमा पनि बृहत् छलफल गर्दैछन् ।