June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

सहज बन्दै जनजीवन: यातायात चल्न थाले, पसलहरू पनि खुले

Advertisement

भैरहवा– जेनजी आन्दोलनपछि ठप्प रहेको सार्वजनिक यातायात संचालनमा आएका छन् । यस्तै, रुपन्देही सबैजसो ठाउँमा साना–ठूला व्यवसायिक प्रतिष्ठान पनि खुल्न थालेका छन् । रुपन्देही जिल्लाभर शनिबारदेखि यातायात चलेका हुन् । यस्तै, पसलहरु पनि आजैदेखि निर्वाध खुल्न सुरु भएका हुन् । बुटवल–भैरहवासहित भित्री सहरहरुमा पनि यातायात संचालनमा आएको व्यवसायीले बताएका छन् ।

Advertisement

यातायात व्यवसायीहरुका अनुसार रुपन्देहीमा मात्रै नभई देशैभर यातायात सञ्चालनमा आएका छन् । जेनजीको आन्दोलनका क्रममा मंगलबारदेखि प्रदर्शन तीव्र भएपछि सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गरिएको थियो ।

आन्दोलन रोकिएपछि र मुलुकले नयाँ प्रधानमन्त्री पाएपछि आमदैनिकी सहज बन्दै भएको छ । अवस्था सामान्य बन्दै गएपछि शनिबारदेखि विभिन्न निकायसँगको समन्वयमा यातायात संचलन गरिएको यातायात व्यवसायीहरूले बताएका छन् ।

शनिबार भैरहवाको बजार बन्द हुँदै आएका छन् । तर, २३ गतेदेखि नै बन्द यहाँको व्यापार व्यवसाय यातायातसँगै संचालनमा आएको छ । आज भैरहवा, बुटवल, देवदह, लुम्बिनी, तिलोत्तमा, सैनामैना लगायतका सहर र भित्री गाउँमा समेत व्यापार–व्यवसाय संचालनमा छन् । यातायात संचालन र व्यवसायिक प्रतिष्ठान खुल्न थालेपछि स्थानीयले सहज सेवा पाएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले शुक्रबार मात्रै विज्ञप्ती जारी गरेर उद्योगी–व्यवसायीलाई ब्यापार–ब्यवसाय खोल्न अनुरोध गरेको थियो ।

तर, जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भने जारी निषेधाज्ञा र कफ्र्यु भने अझै हटाएको छैन । प्रशासनले शुक्रबार दिउँसोदेखि निषेधाज्ञा र कफ्र्यु थप गरेको थियो । प्रशासनको आदेश अनुसार बिहान ६ देखि राति १० बजेसम्म निषेधाज्ञा र राति १० बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु जारी छ । यद्यपि जनजीवन सहज बन्दै गएकाले यसबारे पुनर्विचारको तयारी गरिएको छ ।