June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

अनपेक्षित

Advertisement

नयनकला ‘रसिली’लाई चिन्नुहुन्छ ? मचैँ चिन्छु है । उनलाई नचिन्नु भएको भए म तपाईंलाई उनको परिचय दिन्छु नि !

Advertisement

नयनकला निकै प्रतिभाशाली सर्जक हुन् । विशेषतः बालसाहित्य लेखनमा उनले राम्रो सम्भावना देखाइरहेकी छन् । उनको रचना प्रकाशनका लागि मैले केही पत्रपत्रिका र अनलाइनका सम्पादकसमक्ष सिफारिस पनि गरेको छु ।

म पनि एउटा साहित्यिक पत्रिका ‘समर’ चलाउँछु र त्यसैको अनलाइन संस्करण पनि चलाइरहेको छु । ‘समर’मा पनि मैले नयनकलाका रचनालाई प्राथमिकताका साथ स्थान दिएको छु ।

यसरी नै उनी र मबीच दाइ र बैनीको सुमधुर सम्बन्ध कायम भएको छ । किनकि, उनी निकै शिष्ट, शालीन र संस्कारी स्वभावकी छन् ।

अचेल नयनकलालाई आफ्नो पहिलो कृति निकाल्ने हुटहुटी चलेको छ । पहिला लेखनलाई माझ्ने अनि मात्र कृति प्रकाशन गर्ने भनेर मैले निकै सम्झाउँदा पनि उनको हुटहुटी कम नभएपछि मैले उनलाई ‘मेला’ प्रकाशनका हर्ताकर्ता श्रीकृष्णसँग परिचय गराइदिएँ ।

श्रीकृष्णले नयनकलाको पाण्डुलिपि हेर्ने इच्छा व्यक्त गरेको करिब एक महिनाजतिपछि नै नयनकलाले आफ्नो कृतिको विमोचनमा मलाई वक्ताका रूपमा निमन्त्रणा दिइन् ।

मन्तव्यको क्रममा र कार्यक्रम सकिएपछि पनि मैले नयनकलालाई नवीन कृतिका लागि बधाई दिएँ ।

“धन्यवाद दाइ ! अब छिट्टै नै मेरो एउटा कवितासंग्रह र कथासंग्रह पनि प्रकाशन हुँदै छ । मेरो रचनाको बजारमा राम्रो डिमान्ड छ । प्रकाशकहरू मेरो कृति छाप्न मारामार गरिरहेका छन् । दाइको पनि कृति छाप्नु छ भने मलाई भन्नुहोला । मैले सिफारिस गरेपछि पक्कै छापिन्छ ।”