फुटसल प्रतियोगिताको उपाधि जेसीआई सिद्धार्थ नेपाललाई


भैरहवा– जेसीआई सिद्धार्थ, नेपालले भैरहवामा आयोजित फुटसल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सिद्धार्थनगर–१३ स्थित फुटसल मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी प्रेस क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै जेसीआई सिद्धार्थले उपाधि जितेको हो ।
प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रेस क्लबले जेसीआई सिद्धार्थलाई ३–२ गोलअन्तरले हराउँदै फाइनल पुगेको थियो । लगत्तै भएको अर्को खेलमा जेसीआई सिद्धार्थले सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो ।
फाइनलमा भने जेसीजले लुम्बिनी प्रेस क्लबलाई सहजै हरायो । प्रतियोगितामा तीन टीम सहभागी थिए । उपाधि जितेको जेसीआई सिद्धार्थले नगद १० हजार र उपविजेता बनेको लुम्बिनी प्रेस क्लबले नगद पाँच हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ । विजेता खेलाडीहरुलाई स्वर्णजयन्ती महोत्सवको समापन समारोहमा पुरस्कार वितरण गरिने आयोजकले जनाएका छन् ।
जेसीआई सिद्धार्थले आफ्नो स्वर्णजयन्ती महोत्सवका अवसरमा प्रतियोगिता आयोजना गरेको हो । यसअघि उसले साइकल तथा ह्वीलचेयर वितरण, ब्याडमिन्टन प्रतियोगिता, अन्तरक्रिया लगायतका कार्यक्रम गरिसकेको छ ।
फुटसल प्रतियोगिताको उद्घाटन र समापन सत्रमा बोल्दै पूर्वअध्यक्ष खगेन्द्रप्रसाद शर्मा, पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, संस्थाका अध्यक्ष अर्जुन कुँवर, कार्यक्रम संयोजक हिमबहादुर खत्री लगायतले बोल्दै आपसी भाइचार अभिबृद्धिका लागि कार्यक्रम आयोजना गरिएको जनाए । उनीहरुले यस्ता कार्यक्रमले व्यक्तिलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्नुका साथै एकअर्का संस्थाहरुबीच भ्रातृत्व र बन्धुत्व भावको विकास गर्ने जनाए ।








प्रतिकृया दिनुहोस्