रूपन्देही–३ उपनिर्वाचनः उम्मेदवार टुंग्याएका दलहरू प्रचारमा


भैरहवा– रुपन्देही–३ मा कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तीन दलले उम्मेदवार टुंगो लगाएर प्रचारमा जुटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा नेपाल र जनमतले उम्मेदवार तय गरिसकेका छन् । उम्मेदवार तय गरेका दल अहिले भेटघाट र घरदैलोमा केन्द्रित छन् । यी सँगै स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति समेत प्रचारमा जुटेका छन् ।
रास्वपा उम्मेदवार डा. लेखजंग थापाले बिहीबारबाट भेटघाट थालेका छन् । यस क्रममा उनी पार्टी कार्यकर्तासित आन्तरिक भेटघाटमा व्यस्त छन् । साथै नागरिकको घरदैलोमा पुगेर मत मागिरहेका छन् । राप्रपा नेपालका उम्मेदवार अर्जुन थापाले पनि सामाजिक सञ्जालका साथै मतदाता भेटलाई तिव्रता दिएका छन् । जनमत पार्टीबाट उम्मेदवार बनेका धनिराम चौधरीले दुई महिना अघिदेखि तयारीमा थिए । अहिले उनी खुलेर मतदाता समक्ष पुग्न थालेका छन् । यस्तै, राष्ट्रिय जनमोर्चाका बद्रे आलम पनि मत माग्न व्यस्त छन् ।
यो सँगैं उपनिर्वाचन मिति नजिकिएसँगै दलहरू क्षेत्र आफ्नो कब्जामा पार्न आन्तरिक रणनीतिमा जुटेका हुन् । त्यसका लागि केही दलले तालमेल गर्ने तयारी गरेका छन् भने केहीले एकल उम्मेदवारका लागि बलियो उम्मेदवार खोजिरहेका छन् । २०७९ सालको निर्वाचनमा राप्रपाका नेता दीपक बोहरा निर्वाचित भएका थिए । तर उनको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागको हो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलले उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरे पनि नाम सार्वजनिक गरिसकेका छैनन् ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले अर्जुन थापालाई उम्मेदवार बनाएको छ । राप्रपा नेपाल लुम्बिनी प्रदेशले जिल्लाबाट सिफारिस भएका ३ जनामध्ये थापालाई सिफारिस गरेपछि उनी नै उम्मेदवार भएको पार्टीले जनाएको छ । उम्मेदवारका लागि सिफारिस थापा राप्रपा नेपालको रुपन्देही जिल्ला अध्यक्ष हुन् । सीके राउत नेतृत्वको जनमतले पनि आफ्नो उम्मेदवार टुङ्ग्याएको छ । जनमतले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै, स्वतन्त्र उम्मेदवारी घोषणा गरेका भैरहवाका अजयकुमार गुप्ता, बुटवलका लेखनाथ गैरे, किरण विकले पनि मतदाता भेटघाट गरिरहेका छन् । यस्तै, काठमाडौंका मेयर बालेन शाहका सल्लाहकार सन्तोष गिरी पनि मतदाता भेटिरहेका छन् ।








प्रतिकृया दिनुहोस्