June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

मुस्लिम समुदायमा १५००औं मोहम्मद जन्मजयन्तीको रमझम (फोटो फिचर)

Advertisement

भैरहवा– इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५००औं जन्मजयन्तीका अवसरमा इस्लाम धर्मावलम्बीले विभिन्न कार्यक्रम गरेका छन् । रुपन्देहीका विभिन्न पालिकाहरु बिहानैदेखि रमझम छ । गाडीमा ठूलाठूला साउण्ड बक्स राखेर मुस्लिम समुदायले पैदल र मोटरसाइकल र्याली निकालेका छन् । मुस्लिम समुदायको झण्डासँगै राष्ट्रिय झण्डा समेत फहराउँदै उनीहरु र्यालीमा सहभागी छन् ।

Advertisement

मोहम्मद जन्मज्यन्तीलाई यो समुदयाले विशेष रुपमा मनाउँदै आएका छन् । जिल्लाको विभिन्न क्षेत्रका दर्जनौं मदरसाहरुबाट आएका र्यालीहरु रुपन्देही सदरमुकाम भैरहवामा एकठ्ठा भई आफ्नो इस्लामिक झण्डासहित नेपालको झण्डा पनि बोकी र्यालीमा सहभागी भएका छन् । नेपालप्रतिको माया देखाउँदै मुस्लिम समुदायहरुले आफ्नो इस्लामिक झण्डासँगै नेपालको झण्डा पनि फहराएका हुन् ।

इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ । इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।

पर्वका अवसरमा मुलुकभरका मुस्लिम बस्ती निकै चहलपहल बनेका छन् । मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएका छन् ।

आज बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव र्यालीको आयोजना गरेका छन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश मानिन्छ । पर्वको महत्व नै एकता र आपसी सद्भाव हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।

पर्वमा एकाबिहानै नुहाइधुवाइ गरेर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् । ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन रहेको उनले बताए ।

पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ । यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्य पक्ष भएको उनले बताए । यसै अवसरमा रुपन्देहीका विभिन्न पालिकाले आज विदा समेत दिएका छन् ।

सन् ५७१ अर्थात् आरबी पात्रो रबीउल औवल महिनाको १२ तारिखका दिन मुस्लिम समुदायका धर्म गुरु पैगम्बर मोहम्मद साहबको साउदी अरबको मक्का शरिफमा जन्म भएको थियो । भैरहवाको बेलहिया, मेउडिहवा, गल्लामण्डी, बुद्धचोक, बुटवल, लुम्बिनी लगायतका ठाउँमा र्याली निकालिएको छ ।