असोजदेखि बेलहियामा बन्द एकीकृत जाँच बिन्दुमार्फत् पुनः सेवा सुरु गरिने


भैरहवा– पर्यटकको सहजताका लागि रुपन्देहीको बेलहियामा स्थापनामा गरिएको एकीकृत जाँच बिन्दु पुनः संचालन गरिने भएको छ । यहाँ दुई वर्षअघि सुरु गरिएको जाँच विन्दु केही समयदेखि बन्द अवस्थामा छ । उक्त एकीकृत जाँचलाई सरोकारवाला निकायको पहलमा असोजबाट पुनः सञ्चालनमा ल्याउने सहमती भएको छ ।
यसका लागि जिल्लास्थित सरकारी कार्यालय र प्रदेश पर्यटन मन्त्रालय समेत तातिएको छ । जिल्ला प्रशासनमा बसेको सरोकारवालाको बैठकले सिद्धार्थनगर–१, स्थित एकीकृत जाँच बिन्दु (आइसीपी) असोजबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सुरक्षा लगायत जाँचका नाममा बिदेशी पर्यटकले भोग्नु परिरहेको हैरानी कम गर्न भन्सार बिन्दुमा यस्तो सेवा सुरु गरिएको थियो ।
रुपन्देहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा जाँच विन्दु सुरु गरिएको थियो । । उक्त बिन्दुमा नेपाल प्रहरी, ट्राफिक, सशस्त्र र यातायातका कर्मचारी राखिँदै आएको थियो । नेपाल भित्रिने यात्रुबाहक पर्यटकलाई उक्त विन्दुमा सेवा दिने उद्देश्य हो । तर, विविध कारण देखाउँदै उक्त विन्दु संचालनमा आलटाल हुँदै आएको थियो । तत्कालीन प्रजिअ अर्याल यहाँबाट सरुवा भएर गएपछि संचालनमा खेलाँची गरिएको थियो ।
उक्त बिन्दुमा सुरक्षा लगायत जाँच पूरा गरेपछि पर्यटक सवार गाडीलाई स्टिकर दिने गरिएको थियो । उक्त स्टिकर हेरेपछि जिल्लाका अन्य ठाउँमा सुरक्षा जाँच गरिन्थेन । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) टोकराज पाण्डेले एकीकृत जाँच बिन्दु सञ्चालनमा देखा परेका चुनौंती र समस्याबारे छलफलपछि चेकजाँच बिन्दुलाई व्यवस्थित तुल्याएर पर्यटकको सहजताका लागि सेवालाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिए ।
यसको कार्यान्वयनका लागि सरकारी निकाय र पालिकाबीच कार्यविभाजन समेत गरिएको छ । प्रजिअ पाण्डेका अनुसार लुम्बिनी प्रदेशस्थित उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उक्त बिन्दुका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, आवश्यक निकायसित समन्वय र स्टिकर उपलब्ध गराउने र आवश्यक साधनस्रोतको व्यस्था गर्ने सहमती भएको छ ।
जिल्ला प्रशासनले सुरक्षा, प्रभावकारी व्यवस्थापन र समन्वयकासाथै नियमित अनुगमन, मूल्यांकन र समन्वय गर्ने जनाएको छ । सिद्धार्थनगर नगरपालिकाले चेकजाँच कक्षका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, खानेपानी र सरसफाईको उचित प्रवन्ध गर्ने, सीमा क्षेत्रमा सौन्दर्यकरणको काम गर्ने र आवश्यकता अनुसार साधनस्रोत उपलब्ध गराउन सहमती जनाएको छ । जिल्लास्थित सुरक्षा निकायले जाँच गरेपछि स्टिकर जारी गर्ने, जाँचका लागि आवश्यक जनशक्ति उपलब्ध गराउने र अन्तरनिकाय समन्वय गर्ने जिम्मेवारी लिएका छन् ।
भैरहवा भन्सार कार्यालयले परिसरको सौन्दर्यकरण गर्ने, सेवाग्राहीमैत्री संरचना निर्माण गर्ने जनाएको छ । ‘यसबाहेक जाँच बिन्दुबाट प्रवाह गरिने सेवाको अनुगमन गर्न जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ,’ प्रजिअ पाण्डेले भने, ‘समितिमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश पर्यटन सचिव, प्रहरी प्रमुखहरु र भैरहवा भन्सार प्रमुख रहनुभएको छ ।’ सबै निकायबीच समन्वय गरेर पर्यटकका लागि सहज वातावरण तयार गर्ने सहमती बनेको उनले बताए ।








प्रतिकृया दिनुहोस्