May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

जापानिज इन्सेफ्लाइटिसबाट लुम्बिनी प्रदेशमा आठको मृत्यु, उपचार र बच्ने उपाय के-के हुन् ?

Advertisement

भैरहवा– गत पुस महिना यता जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट सबैभन्दा धेरै लुम्बिनी प्रदेश प्रभावित हुन पुगेको छ । स्वास्थ्य सेवा विभागको परिवारकल्याण महाशाखाको तथ्यांक अनुसार पुस महिना यता जापानिज इन्सेफ्लाइटिस संक्रमण र मृत्यु लुम्बिनी प्रदेशमा बढी देखिएको हो ।

Advertisement

लामखुट्टेको टोकाइबाट संक्रमण हुने यो रोगबाट कुल १ सय १३ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । जसअनुसार संक्रमणको अवस्था लुम्बिनी प्रदेशमा ३७, बागमतीमा १८, कोशीमा १७, गण्डकीमा १६, सुदूरपश्चिममा ९ र कर्णाली प्रदेशमा २ दुई जनामा पुष्टि भएको छ ।

मृत्यु हुनेमा लुम्बिनीमा ८, कोशीमा ३, मधेशमा ३, बागमती र गण्डकीमा ४–४ र सुदूरपश्चिममा १ जना छन् । हालसम्म ३६ जिल्लामा यो रोगको संक्रमण फैलिएको छ ।

लामखुट्टेको टोकाइबाट फैलिने यसको संक्रमणबाट पश्चिम नवलपरासी जिल्लामामात्रै विगत डेढ महिनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु भएका तीनैजनाले जापनिज इन्सेफ्लाइटिसका बिरुद्ध लगाइने खोप उनीहरु तीनैजनाले लगाएका थिएनन् ।

जापानिज इन्सेफ्लाइटिसको संक्रमण साउनदेखि कात्तिकसम्म बढी हुन्छ । संक्रमण भएकामध्ये १५ देखि ३० प्रतिशतको मृत्यु हुने भएकाले यसको मृत्यु दर उच्च छ ।

यो रोगले स्नायुमा असर पुर्याउने भएकाले जीवनभरका लागि अंगभंग बनाउने जोखिम पनि उत्तिकै हुन्छ । यो रोगको संक्रमण गराउने क्युलेक्स प्रजातिको लामखुट्टे बिशेषगरि साँझपख र झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्छ ।

के हो जापानिज इन्सेफ्लाइटिस ?
जापानिज इन्सेफलाइटिस भन्ने भाइरसबाट मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । जुन सुँगुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ ।

मनसुनको समयमा सबैभन्दा जोखिम
वर्षायाममा संक्रामक रोगहरु बढी देखिन्छन् । यो समय बढी जीवाणुहरु आद्रताले सक्रिय हुन्छन् । बाढी र निरन्तर वर्षाका कारण सरसफाइमा कमी हुन्छ । पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैनन् । ठाउँठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ । संक्रमण भएको जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्ने जोखिम हुन्छ ।

यसले कसरी असर पार्छ ?
सुँगुर र चराहरुमा जापानिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ । यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ । मस्तिष्कलाई असर गरेपछि ज्वरो आउने, घाँटी बस्ने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षण देखापर्ने हुन्छ । गम्भीर रुपमा असर पारेमा कोमा (बेहोस अवस्था) मा पुर्याउन सक्ने हुन्छ ।

उपचार
जापानिज इन्सेफ्लाइटिसको निश्चित कुनै उपचार छैन । यसको लक्षण अनुसारको उपचार गरिन्छ । जस्तै– ज्वरो आएमा त्यसको उपचार, कम्पन छुटिरहेको भए सम्बन्धित उपचार, टाउको दुखिरहेको भए त्यसलाई कम गर्ने उपचार हुन्छ ।

यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरुमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् । तर जसको प्रतिरोधात्मक क्षमता कम छ । एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणालीलाई हमला गर्ने रोग भएकाहरुमा भने आईसीयुदेखि भेन्टिलेसनमै जाने सम्भावना हुन्छ । प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जाने जोखिम समेत रहन्छ ।

जापानीज इन्सेफ्लाइटिस विरुद्ध खोप यसको मुख्य उपचार
यो भाइरस विरुद्ध लड्ने एउटै बलियो संयन्त्र हो, जापानी इन्सेफ्लाइटिस विरुद्धको खोप । त्यसैले यसको संक्रमण हुन नदिन शिशुलाई जन्मिएको १२ महिनामा अनिवार्य खोप लगाउने गरिन्छ ।

जापानिज इन्सेफ्लाइटिसबाट कसरी बच्ने ?
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाएर यो रोगको जोखिम कम गर्न सकिने चिकित्सकहरु बताउँछन् । यसका लागि खोपहरू पनि उपलब्ध छन्, जसले संक्रमणको जोखिम कम गर्न वा संक्रमण भएमा गम्भीर रोगको जोखिमबाट जोगाउन मद्दत गर्न सक्छ । यस बाहेक लामो बाहुलाको सर्ट र प्यान्ट लगाउने, घर वरपर सरसफाइ गरी लामखुट्टेको प्रजनन् वृद्धि रोक्नुपर्छ ।