पश्चिम नवलपरासीमा जापनिज इन्सेफ्लाइटिस र पाल्पामा डेंगु संक्रमण बढी


भैरहवा– लामखुट्टेको टोकाइबाट फैलिने जापनिज इन्सेफ्लाइटिसको संक्रमणबाट पश्चिम नवलपरासी र डेंगुको संक्रमणबाट पाल्पा जिल्ला बढी प्रभावित भएका छन् । जापनिज इन्सेफ्लाइटिसको संक्रमणबाट पश्चिम नवलपरासीमा ३ जनाको मृत्यु भएको छ भने पाल्पामा डेंगी संक्रमण बढ्दै गएको छ ।
विगत डेढ महिनाको अवधिमा जापनिज इन्सेफ्लाइटिसबाट ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । निमित्त प्रमुख भेषराज शर्माका अनुसार मृत्यु हुनेमा बर्दघाट नगरपालिका, सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका एक–एक जना पुरुष छन् । उनीहरू क्रमशः ७४, ६२ र ५० वर्षका थिए ।
जापनिज इन्सेफ्लाइटिसका बिरुद्ध लगाइने खोप उनीहरु तीनैजनाले लगाएका थिएनन् । पछिल्ला दिनमा पश्चिम नवलपरासीमा डेंगुको संक्रमण पनि बढ्दो अवस्थामा छ । पश्चिम नवलपरासीका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलका अनुसार जापानिज इन्सेफ्लाइटिस र डेंगुको जोखिमलाई ध्यानमा राख्दै समुदायस्तरमा लामखुट्टे नियन्त्रण र जनचेतना अभियान सञ्चालन गरिएको छ ।
सन् २०२५ को हालसम्म ९ जनामा डेंगुको संक्रमण देखिएको छ । उता, पाल्पामा पछिल्लो आठ महिनामा २ सय ९८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये, २ सय २४ जना पाल्पा जिल्लाभित्र बसोबास गर्ने र ७४ जना जिल्लाबाहिरबाट उपचार गर्न आउने रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ल्याब अधिकृत मधुसुदन भट्टराईले जानकारी दिए ।
उनका अनुसार पछिल्लो आठ महिनामा लुम्बिनी प्रदेशमै पाल्पामा सबैभन्दा धेरै डेंगुबाट संक्रमित भएका छन् । पछिल्लो ८ महिनामा प्रत्येक महिना लुम्बिनी प्रदेशमैं पाल्पामा धेरै संक्रमण भएको पुष्टि हुँदै आएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तराईका रुपन्देहीमा ९७, बाँकेमा ३७, दाङमा ९१, बर्दियामा १८ जना र कपिलवस्तुमा १५ जनामा डेंगु संक्रमण देखिएको छ । गुल्मीमा ५१, पश्चिम नवलपरासीमा ९, अर्घाखाँचीमा ४०, रोल्पामा ११ र प्यूठानमा १४, रुकुम पश्चिममा ४ जनामा देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पहाडी जिल्ला पाल्पामा भने अघिल्लो वर्ष र यस वर्ष डेंगु संक्रमण बढेको छ । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जलवायु परिवर्तनले गर्मी बढ्दै जानु र लामखुट्टे हुर्कनका लागि उपयुक्त वातावरण भएकाले पनि डेंगु संक्रमणको संख्या बढेको हो ।








प्रतिकृया दिनुहोस्